आर्मी फाईनलमा, आयोजक सहारा बाहिरियो

Share:

रञ्जन अधिकारी पोखरा, १३ माघ / विभागीय टीम त्रिभुवन आर्मी क्लब १४ औं आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको मैदानमा बुधबार भएको पहिलो सेमिफाईनल खेलमा घरेलु टोली सहारा क्लबलाई २–० ले पराजित गर्दै आर्मी उपाधि होडमा उभिएको हो । अब उपाधिका लागि विहीबार हुने झापा ११ र मनाङ मस्र्याङ्दी क्लबबीचको विजेतासँग शनिबार खेल्नेछ ।

प्रतियोगितामा तेस्रो पटक फाईनल प्रवेश गर्ने क्रममा आर्मीका लागि सन्तोष तामाङ र दीप लामाले गोल गरे । निर्धारित ९० मिनेटको समयमा गोलविहीन खेलमा अतिरिक्त समय ३० मिनेट थपिएको थियो । १०२ औं मिनेटमा सन्तोषले करीब ३० यार्ड टाढाबाट प्रहार गरेको बलले जाली चुमेको हो । सन्तोष खेलको म्यान अफ द म्याच पनि बने । अग्रता लिएको पाँचौ मिनेटमै दीप लामाले उत्कृष्ट गोल गरे । दीप दोस्रो हाफको सुरुदेखि नै बालकृष्ण श्रेष्ठको ठाउँमा खेलेका थिए । उनले १०७ औं मिनेटमा गरेको प्रहारमा विपक्षी गोलकिपर विनय श्रेष्ठले बल रोक्ने मौका नै पाएनन् । थ्रीस्टार विरुद्ध भएको क्वार्टरफाईनल खेलमा लामाको निर्णायक गोलमा आर्मीले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

पहिलो हाफमा केहि आक्रामक बनेको सहारा दोस्रो हाफमा फितलो बनेको थियो । टीमका प्रमुख खेलाडी बुद्ध लामा घाईते भएर दोस्रो हाफको सुरुतिरै मैदानबाट बाहिरिएपछि सहारा दबाबमा आएको हो । आर्मीले भने पहिलो हाफ भन्दा दोस्रो हाफमा प्रदर्शन सुधार गरेको थियो । खेलको २८ औं मिनेटमा टंक बस्नेतको क्रसमा भरत खवासको प्रहार विनयले रोकेका थिए । पहिलो हाफको ईन्जुरी समयमा टंक बस्नेतको प्रहारलाई सहाराका शिव सुवेदीले गोललाईन नजिकैबाट क्लियर गरे । ६९ औं मिनेटमा भरत खवासले बललाई जाली चुमाएपनि अफसाईड थियो । ८५ औं मिनेटमा भरतकै प्रहार पोष्ट नजिकैबाट बाहिरियो । सहाराका तर्फबाट ४५ औं मिनेटमा उत्तम गुरुङको कर्नर प्रहार क्रसबारमा लागेर बाहिरियो । ६७ औं मिनेटमा एल्भिसको क्रस बललाई शिव श्रेष्ठले हाई हाने ।

रेफ्री नविन्द्र महर्जनले सहाराका एल्भिसलाई ६५ मिनेट र आर्मीका दीप लामालाई खेलको १०७ औं मिनेटमा पहेंलो कार्ड दिएका थिए । दुवै टीमले यसअघि दुई खेल जितेका थिए । विजेता आर्मीले प्रिक्वार्टरमा जावलाखेल युथ क्लबलाई २–० र दोस्रो खेलमा थ्रीस्टार विरुद्ध १–० गोल अन्तरले नतिजा आफ्नो पक्षमा पारेको थियो । नवजनजागृति सिमरालाई उद्घाटन खेलमै ३–० ले हराएको आयोजक सहाराले क्वार्टरफाईनलमा युनाईटेड एफसी सिक्किमलाई २–० गोलले पराजित गरेको थियो । यसअघि, यी दुई टीम ११ औं संस्करणको दोस्रो सेमिफाईनलमा आमनेसामने भएका थिए । त्यसबेला निर्धारित र अतिरिक्त ३० मिनेटमा गोल नभएपछि टाईब्रेकरतर्फ धकेलिएको खेलमा सहारा विजयी भएको थियो ।

प्रतियोगितामा आर्मीको यो आठौं सहभागिता हो । सातौं र आठौं संस्करणमा लगातार फाईनल पुगेको आर्मी दुवै पटक नेपाल पुलिससँग पराजित भएको थियो । सहाराको दोस्रो पटक उपाधि जित्ने सपना पुरा भएन । १२ औं संस्करणको विजेता सहारा ११ औं संस्करणको उपविजेता टीम हो भने त्यसबाहेक क्याराभान सहित ६ पटक सेमिफाईनलबाट नै बाहिरिएको थियो ।

विहीबार दोस्रो सेमिफाईनलमा झापा ११ र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिष्पर्धा हुँदैछ । बाई पाएर सिधै क्वार्टरफाईनल खेलेको मनाङले ईण्डियन आर्मी गोर्खा ब्रिगेडलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो भने झापा ११ ले पहिलो खेलमा पुलिसलाई २–० र क्वार्टरफाईनलमा पाहुना टीम बंगलादेशको गजिरचाट स्पोर्टिङ क्लबलाई ४–१ गोलले पराजित गरेको थियो ।

मनाङको यो क्याराभान सहित १३ औं सहभागिता हो । पोखराको मैदानमा दोस्रो सफल टीम मनाङ तीन पटकको विजेता र चार पल्टको उपविजेता हो । छैटौं र सातौं संस्करणमा मनाङको सहभागिता रहेन । गत संस्करणमा मनाङ फाईनलमा थ्रीस्टारसँग १–० गोलले पराजित भएको थियो । झापा ११ को यो दोस्रो सहभागिता हो । २०५८ मा पहिलो संस्करणमा सहभागी झापा ११ ले पहिलो खेलमै थ्रीस्टारलाई १–० ले हराउँदै क्वार्टरफाईनलको यात्रा तय गरेको थियो र पुलिससँग त्यसबेला ३–१ ले हार व्यहोरेको थियो । झापा ११ पछिल्लो राष्ट्रिय लिगमा चौथो स्थानमा रहेको टीम हो । मनाङ भने तेस्रो स्थानमा लिग टुंगाएको थियो । लिगको भेटमा मनाङले झापा ११ लाई ३–२ ले हराएको थियो ।

सहारा प्रशिक्षक किरण श्रेष्ठले बुद्ध लामा घाईते हुनु नै खेलको टर्निङ प्वाईन्ट रहेको बताए । आर्मी जस्तो नियमित अभ्यासमा रहेको टीमसँग खेल्नु गाह्रो नै रहेको भन्दै उनले सट्टा खेलाडीहरुले पनि सोचेअनुसार नखेलेकाले दोस्रो हाफमा केहि फितलो देखिएको बताए । ९० मिनेटको समयसम्म खेलाडीले राम्रो खेलेको उनको भनाई थियो ।

आर्मी प्रशिक्षक मेघराज केसीले सहभागी टीम सबै योग्य टीम भएकाले जित्न सहज नभएको र सेमिफाईनल खेल कठिन नै हुने बताए । उनले सहाराको रक्षा पंक्ति तोड्न गाह्रो भएको जनाए । आर्मीको खेलको गति सुरुदेखि ै अन्त्यसम्म एकै प्रकारको हुने जनाउँदै उनले अब फाईनलका लागि जुन टीमसँग पनि तयार रहेको उल्लेख गरे । आर्मीका ४० जना खेलाडी तालिमरत रहेकाले खेलाडी अभाव नरहेको बताए । बंगबन्धु गोल्डकपका सर्वोत्कृष्ट खेलाडी नवयुग श्रेष्ठसँगै गोलकिपर विकेश कुथु राष्ट्रिय टीममा छन् । आर्मी कप्तान भरत खवासले पनि झापा ११ वा मनाङ मस्र्याङ्दी जुन फाईनल पुगेपनि फरक नपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: