कल्याण शेरचनको पाँचौ स्मृति दिवस यसरी मनाईयो

Share:

पोखरा, २५ माघ-
लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको पाँचौ स्मृति दिवस भुकम्पबाट क्षतिग्रस्त फुम्रोखुँ बराह माविलाई नवनिर्मित भवन हस्तान्तरण, शिक्षासेवी बलवीरसिंह नेगीलाई सम्मान, विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र विविध साँस्कृतिक कार्यक्रम गरी आइतवार मनाएको छ ।
बैशाख १२ र २९ गतेको महाभूकम्पबाट कास्की जिल्ला घान्द्रुक गाविस वडा नं. १ क्लिउ स्थित क्षतिग्रस्त फुम्रोखुँ बराह माविमा कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा निर्मित तीन कोठे विद्यालय भवन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, सँस्कृतिकर्मी, चलचित्र निर्देशक चेतन कार्कीले ताम्रपत्र अनावरण गरी उद्घाटन पश्चात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोरनबहादुर क्षेत्री र प्रधानाध्यापक दीपक क्षेत्रीलाई चावी हस्तान्तरण गर्नुभएको हो ।
तीन कक्षा कोठा र दुई शौचालयसहितको १८ लाख ८५ हजारको लागतमा निर्मित कल्याण शेरचन स्मृति भवन निर्माणका लागि प्रतिष्ठानका शुभेच्छुकहरु बेलायत अवस्थित गोल्डेनशीप रेष्टुरेण्टका सञ्चालक देव गुरुङ र सनत गुरुङबाट ९ लाख ६० हजार रुपैया, ठाँटी नेपाल समाज बेलायतबाट १ लाख, पाहार ट्रष्ट नेपालबाट १ लाख २० हजार, थकाली सेवा समिति पोखरा नदिपुरबाट १० हजार, कल्याण शेरचन स्मृति प्रतिष्ठानबाट १ लाख ११ हजार १११ रुपैया र ३ लाख २५ हजार बरावरको क्षतिग्रस्त विद्यालयको तर्फबाट श्रमदान तथा भौतिक सहयोग भएको बताइएको थियो । यसरी नै उक्त कक्षाहरुमा प्रतिष्ठानकै पहलमा फर्निचरका लागि गोर्खा वेलफेयर पोखराबाट २ लाख ५० हजार रुपैयाको निकासा भएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन ह्योल्मोले जानकारी दिनुभयो ।
प्रतिष्ठानका कार्यसमिति सदस्य खगेन्द्र गौचनको संयोजकत्वमा, कोषाध्यक्ष प्रदीप गौचन, सदस्य गजबहादुर गुरुङ, कमलबहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सदस्य रहेको भवन निर्माण उपसमितिको नेतृत्वमा विद्यालय भवन निर्माण गरेको हो ।
विद्यालयमा हाल २६० विद्यार्थी अध्ययनरत रहेको र ९० प्रतिशत दलित विद्यार्थीहरुको रहेको विद्यालयका प्रधानाध्यापक दीपक क्षेत्रीले जानकारी दिनुभयो ।
यसरी नै फुम्रोखुँ बराह माविको प्राङ्गणमा आयोजित कार्यक्रममा ५६ प्राध्यापन र २३ वर्ष क्याम्पस प्रमुख भई शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएका शिक्षासेवी बलबीरसिंह नेगीलाई शिक्षा सम्मान गरिएको थियो । शिक्षासेवी नेगी अस्वस्थ्यका कारण कार्यक्रममा अनुपस्थितीका कारण छोरा नेपाली सेनाका सेनानी सन्दीप नेगी मार्फत २५ हजार १ रुपैयाको थैली, ताम्रपत्रसहित प्रमुख अतिथि चेतन कार्की, प्रतिष्ठानका संरक्षक नरबहादुर शेरचन, प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर गुरुङ ह्योल्मोले सम्मान गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
Share: