१६ जेठ, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काजमा सरुवाका लागि सहमति नदिने निर्णय गरेको छ । यससँगै खरेलको सरुवा गर्ने तयारी रोकिएको छ ।
आयोगको शुक्रबार बसेेको बैठकले निर्वाचन आचार संहिता लागू भइसकेको भन्दै खरेलको काज सरुवाका लागि सहमति नलिने निर्णय गरेको आयुक्त अयोधिप्रसाद यादवले बताए ।
निर्वाचन आयोगले आचारसंहिताविपरीत भन्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवालाई सहमति नदिएका बेला मुख्यालयले भने उनलाई सोधपुछका लागि भन्दै तानेको छ । एक साताअघि सार्वजनिक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै गृह मन्त्रालयले उनलाई सरुवा गर्ने प्रयास गरेको थियो । सरुवाका लागि गृहले सहमति लिन खोज्दा आयोगले अस्वीकार गरेको हो ।
आयोगको शुक्रबारको बैठकले असार ८ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भएको भन्दै खरेलको सरुवा रोकेको थियो । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचनको मिति तोकिसकेको अवस्थामा सरुवा गर्दा त्यो आचारसंहिताविपरीत हुने भएकाले अनुमति नदिइएको बताए ।
निर्वाचन आयोगले सहमति नदिने सुइँको पाएपछि प्रहरी मुख्यालयले शुक्रबार बिहान उनलाई ‘सोधपुछ’ का लागि तान्ने निर्णय गरेको थियो । उनले दिएको अभिव्यक्तिबारे छानबिन गर्न मुख्यालयले डीआईजी विज्ञानराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्यही समितिलाई बिहान निर्णय गर्न लगाएर खरेललाई सोधपुछका लागि मुख्यालय तान्ने निर्णय गरेको हो । बिहान ११ बजे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित डीआईजीहरूको बैठकले खरेललाई सरुवा नगर्दा संगठनको ‘चेन अफ कमान्ड’ बिथोलिने भन्दै उनलाई सोधपुछका लागि तान्ने निर्णय गरेको थियो ।
डीआईजी शर्माको नेतृत्वमा गठित छानबिन समितिले आइतबार प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउनुपर्ने समयसीमा छ । खरेलमाथि फौजी संगठनमा बसेर त्यसको मर्यादाविपरीत अभिव्यक्ति दिएको भन्दै मुख्यालयमा चर्को विरोध भइरहेको छ ।
गत आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा वक्ताका रूपमा निम्त्याइएका खरेलले प्रहरीभित्र ‘बढुवामा पैसाको चलखेल हुने’ अभिव्यक्ति दिएका थिए । उनले भाषणका क्रममा भ्रष्ट अधिकारीहरू बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाइरहेको अभिव्यक्ति दिएका थिए ।
खरेलको अभिव्यक्तिलाई लिएर शुक्रबार दिउँसो संसद्मा समेत चर्चा भयो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हालै एआईजीको बढुवामा करोडौंको खेलो भएको आरोप लगाए । उनले रोलक्रमअनुसार आउनुपर्नेलाई हटाइएको उल्लेख गर्दै सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।
खरेलकै पक्षमा शुक्रबार बिहान पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि मुख खोलेका छन् । उनले खरेलको बचाउ गर्दै आफ्नो टि्वटर एकाउन्टमार्फत एआईजी बढुवामा आर्थिक चलखेल भएको जनाएका छन् । उनले लेखेका छन् ‘प्रहरीको एआईजीपी बढुवामा आर्थिक चलखेल भएको भरपर्दो सूत्रबाट थाहा भएको छ । यसबारे भेद खोल्ने इमानदार अफिसरलाई कारबाही गर्नु ठीक भएन ।’
