हिसान कास्कीको अध्यक्षमा पन्त, शैक्षिक विकासमा निजी क्षेत्रको योगदान उच्च छ: पण्डित

Share:

रञ्जन अधिकारी पोखरा, १७ जेठ, उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको चौथो जिल्ला अधिवेशनले बाबुराम पन्त (ग्लोबल कलिजियट उमावि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नौ सदस्यीय उक्त समितिको कार्यकाल तीन वर्षको रहनेछ ।

समितिको उपाध्यक्षमा रामजी शर्मा (माउण्ट अन्नपूर्ण उमावि), सचिवमा यामबहादुर रोका (डायमण्ड उच्च मावि, लेखनाथ), कोषाध्यक्षमा ढाकाराम कडेंल (न्यु लाईट उच्च मावि), सहसचिवमा दिवाकर जैशी (हिल प्वोईण्ट उच्च मावि) तथा सदस्यहरुमा पुण्यप्रसाद पौडेल (प्रतिभा उच्च मावि), लिला प्रधान (लक्ष्मी आवासीय उच्च मावि), नारायणशर्मा चापागाईं (स्पाईरल ग्यालेक्सी उच्च मावि) र राजु कायस्थ (न्यु ग्यालेक्सी उमावि) रहेका छन् ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले मुलुकको शैक्षिक विकासमा निजी क्षेत्रको योगदान उच्च रहेको बताए । पछिल्लो समयमा क्याम्पसहरुमा प्रमाणपत्र तह कक्षा हटिसकेकाले सबै जिम्मेवारी उच्च माविको रहेकाले गुणस्तरीय उत्पादनमा ध्यान दिन उनले आग्रह गरे । ‘सबै मिलेर अझै राम्रो बनाउनुपर्नेछ । शिक्षामुखी संस्कृतिको विकास गर्नुपर्नेछ ।’ उनले भने – ‘राजनीतिक समस्याले शिक्षा क्षेत्रमा गम्भीर असर पुगेको छ। यो हुनुहुँदैन ।’ उनले पर्याप्त बजेट भएमा आफूले शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण कार्यक्रमका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले राष्ट्र निर्माणमा दक्ष जनशक्ति तयार पार्न हिसानको महत्वपूर्ण भूमिका रहने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे । ‘नाफा मात्रै पक्कै हेर्नुभएको छैन । शैक्षिक उन्नयनमा आफ्नो भूमिका निर्वाह गर्नुहुनेमा म विश्वस्त छु ।’ उनले भने – ‘सरकारी शैक्षिक संस्थामा ट्रेड यूनियन खोलेर जीन्दगीभर जागिर खाएर बस्ने परिपाटी पनि छ । यसलाई अन्त गर्नुपर्नेछ ।’ उनले पोखरा शैक्षिक पूर्वाधार युक्त शहर भएकाले गुणस्तरीयतालाई ध्यानमा राखेर शैक्षिक संस्था संचालनमा जोड दिए ।

हिसानका केन्द्रिय उपाध्यक्ष रमेश सिलवालले राज्यले शिक्षाको उन्नयनमा उल्लेखनीय योगदान पु¥याएकाहरुलाई सम्मान गर्न पनि कञ्जुस्याईं गरिरहेकोमा असन्तुष्टि जनाए । ‘पृथ्वीनारायण क्याम्पसका संस्थापकलाई राज्यले सम्झदैंन । उनीहरुको योगदान चाहिँ केहि लाग्दैन ।’ कार्यक्रममा सम्मानित व्यक्तित्व राधेश्याम कायस्थलाई हेर्दै सिलवालले भने – ‘जीवनका लामो दशक शिक्षामा बिताउनुभएका कायस्थहरु राज्यको आँखामा पर्दैन ।’ सिलवालले विद्यार्थी, अभिभावक र पत्रकारबाट पाउने सम्मान मात्र आफूले स्वीकार गर्ने स्पष्ट पार्दै भने ‘सचिवलाई रिझाउनेहरु उनकै सिफारिसमा अस्ति पदक थापे । यस्ता पदकको माला भिरेर शिर निहुराउनु छैन ।’ उनले शिक्षकहरु पनि समयसँगै अपडेटेड हुनुपर्ने आवश्यकता औंल्याउँदै प्रविधिले छलाङ मारिसकेको अवस्थामा परम्परावादी शिक्षाले शिक्षकलाई नै आउटडेटेड बनाउने बताए । पोखरालाई एजुकेशन हबको रुपमा विकास गर्नुपर्ने भन्दै उनले विदेश पठाउने भन्दा पनि पोखराले विदेशीलाई हिमालको काखमा रमेर पढाउने वातावरण तयार गर्न लाग्नुपर्ने उल्लेख गरे ।

सम्मानित व्यक्तित्व शिक्षाविद् राधेश्याम कायस्थले हिजोको शिक्षा चरित्रमूलक र अहिलेको शिक्षा सीपमूलक रहेको भन्दै विद्यार्थीलाई सीपसँगसँगै चरित्र र अनुशासनका पाठको पनि आवश्यकता रहेको बताए । उनले काम गर्दै गए सफल भईने भएकाले शैक्षिक विकासमा लागेका सबैलाई शुभकामना दिए ।

अभिभावक संघ कास्कीका अध्यक्ष हेमराज बरालले सर्वोच्ले २०७२ सम्म शैक्षिक शुल्क बृद्ध नगर्न आदेश दिईसकेको अवस्थामा यसको पूर्ण पालना हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा हिस्टान कास्की अध्यक्ष शिवलाल उपाध्या, अखिल नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष स्थिरप्रसाद खनाल लगायतले बोलेका थिए ।

हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव यामबहादुर रोकाले स्वागत गरेका थिए भने उपाध्यक्ष कृष्णबहादुर केसीले संस्थाका गतिविधिबारे जानकारी गराए । कार्यक्रमको संचालन सचिव रामजी शर्माले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: