पोखरा, १७ जेठ। जिल्ला भुमि अधिकार मञ्च कास्कीको पोखरामा शनिवार सम्पन्न दोस्रो अधिवेशनले आगामी तीन वर्षका लागि पुनः आशबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा दानबहादुर शाही, सचिवमा कमला गहतराज, कोषाध्यक्षमा शान्तिसिंह ठकुरी, सहसचिवमा प्रेमबहादुर गजमेर छन् भने सदस्यहरुमा मैता गुरुङ, दुर्गा पहारी, चतुरमान वि.क, रामकृष्ण परियार, जयराम सुनार र रश्मी परियार छन्।
उद्घाटन समारोहमा सुकुम्बासी नेताहरुले अव राजनीति झुण्डबाट बाहिर निस्केर र स्वार्थभन्दा माथि उठेर भुमिहीनलाई संगठितगर्दै सडकमा उतार्ने समेत चेतावनी दिएका छन्। सुकुम्बासी नेताहरुले राजनीतिक दलहरुलाई निर्वाचनमा गरेको प्रतिवद्वता नविर्सन आग्रहगर्दै चुनावी घोषणा पत्र पल्टाउन समेत भनेका छन्।
कास्कीका भुमिहीनहरुले राजनीतिक दलहरुप्रति आक्रोश व्यक्त गरेका छन्। राजनीतिक दलहरुले आफुलाई भोट वैकको रुपमा मात्रै उपयोग गरेकोभन्दै उनीहरुले आक्रोश व्यत्त गरेका हुन्। साथै उनीहरुले भुमिहीनको परिभाषामा समेत परिवर्तन ल्याउनुपर्ने आवश्यकता औल्याएका थिए।
उनीहरुले गास, बास, कपास, खानेपानी, विद्युत र नागरिकता सम्वन्धी समस्या समाधान गरिदिन सरकारसँग माग पनि गरेका छन्। कास्कीमा झण्डै ३५ हजार भुमिहीन रहेकोे अनुमान गरिएको छ।
अधिवेशनको उद्घाटन गर्दै भुमि अधिकार मञ्चका अध्यक्ष सोमप्रसाद भण्डारीले मञ्चले भुमिहीनको पक्षमा मात्र नभएर भुमिमाथि महिलाको अधिकार स्थापित गर्न पनि लागि परेको बताए। उनले कुल जमिनको ३७ प्रतिशत भू–भाग भुमिपतिहरुले ओगटेको बताए।
नेपाली काङ्ग्रेस कास्कीका सदस्य गिरिराज गौतमले भुमिहीनका समस्याप्रति पार्टी गम्भिर रहेको बताए। भुमि अधिकारकर्मी शुभराज चौधरीले खेतवारीमा नङ्ग्रा खियाउनेहरु भुमिहिन भएकोभन्दै भुमि आन्दोलन आवश्यक रहेको बताए। कार्यक्रममा नेकपा एमाले पोखरा नगर कमिटीका अध्यक्ष तेजनारायण अधिकारीले बोलेको कुरा पुरा गर्नेतर्फ राजनीतिक दलहरु लाग्नुपर्ने बताए।
स्वतन्त्र पत्रकार सङ्घ नेपालका महासचिव कमल पौडल अथकले सामन्ती राज्य व्यवस्थाका कारण कोहि भुमिपति र कोहि भुमिहीन बन्नु परेको उल्लेख गरे। सिद्वार्थ क्लव पोखराका कार्यक्रम संयोजक दुर्गा खनालले वर्षाैदेखि भुमिहीनको समस्या जस्ताको तस्तै रहेको बताए। कार्यक्रममा कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङ, बाल तथा महिला शशत्तिकरण समाज कास्कीका कार्यक्रम संयोजक दुर्गा शर्मा, महिला अधिकार मञ्च कास्कीका अध्यक्ष राधा गौतम, सुकुम्बासी नेताहरु खलिल मिया, समिर थापा, ओम पौडेल, हर्कबहादुर वि.क र दिलिप सुनार लगायतले बोलेका थिए।
जिल्ला भुमि अधिकार मञ्च कास्कीका अध्यक्ष आशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दानबहादुर शाहीले स्वागत र सचिव कमला गहतराजले कार्यक्रम संचालन गरेकी थिईन्।
News n Photo Source: Nabin Sigdel
