संविधान कार्यान्वयन नै मुख्य एजेण्डाः गृहमन्त्री बस्नेत

254
0
Share:

रञ्जन अधिकारी पोखरा, १६ फागुन / गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिले संविधान कार्यान्वयनको एजेण्डा प्रमुख विषय भएको बताएका छन् । उनले यो अवस्थामा सुशासन, आर्थिक विकास, शान्ति कायम गर्ने कुराहरु राष्ट्रिय प्राथमिकताको विषय बनेको बताए ।

क्रान्तिकारी पत्रकार संघको आईतबार ४ नम्बर प्रदेश स्तरीय भेलाको उद्घाटनपछि बोल्दै उनले यी सबै पुरा गर्न सरकार, दल देखि नागरिकसम्म सबै पक्षबीच राष्ट्रिय सहमति आवश्यक पर्ने बताए । बस्नेतले संविधानले व्यवस्था गरेको नागरिकको मौलिक अधिकारलाई स्थापित गर्न संचारमाध्यमको मुख्य भूमिका हुने धारणा व्यक्त गरे ।

‘राजनीतिक अधिकारका बारेमा मात्र बढि चर्चा हुने गरेकोमा लोकतान्त्रिक संविधानले नागरिकका मौलिक अधिकारलाई आर्थिक सामाजिक अधिकारसँग पनि सम्बन्धित गरी हेरेको छ ।’ बस्नेतले भने– नयाँ आवश्यकतालाई ध्यान दिँदै अघि बढ्नुपर्नेछ । यसमा सबै पक्षले लाग्नुपर्नेछ ।’

उद्घाटन कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पूण्य पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारितालाई सम्वृद्ध बनाउन पहल गर्नुपर्ने बताएका थिए । क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य राज शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन त्रिभुवन पौडेल र स्वागत कास्की संयोजक दीपक परियारले गरेका थिए ।

यसैबीच, क्रान्तिकारी पत्रकार संघको ४ नम्बर प्रदेश संयोजकमा त्रिभुवन पौडेल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न प्रदेशस्तरीय भेलाले पौडेलको संयोजकत्वमा २७ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको हो । समितिका सदस्यहरुमा दीपक परियार, विभु भुषाल, चन्द्रश्वर बस्ताकोटी, कोपिला कँडेल, कमल खत्री, राजेन्द्र न्यौपाने, अर्जुन काफ्ले, एस.वी नेपाली, मुरारी शर्मा, रतन गुरुङ, दीपक भट्टराई, गोमा घिमिरे, नवीनराज कुइँकेल, प्रितम भुजेल, सन्तोष गौतम, रामप्रसाद तिमिल्सिना, घनश्याम पाण्डे, रामचन्द्र राई, प्रतिक्षा काफ्ले, गणेश पौडेल, कृष्णमाया पोखरेल, उमा आले मगर, रोश्मी गुरुङ, विश्व सुवेदी, नारायण वि.क र कृष्ण दवाडी रहेका छन् ।

भेलाले सात बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ । प्रस्तावमा सम्पूर्ण क्रान्तिकारी, प्रगतिशिल तथा श्रमजीवि पत्रकारहरुको एकतामा जोड दिइएको छ । विगतमा छिन्नभिन्न भएका क्रान्तिकारी प्रगतिशिल तथा श्रमजीवि पत्रकारहरुकालाई क्रान्तिकारी पत्रकार संघको मूल संगठनमा सामेल हुन आह्वान गरिएको छ ।

विभिन्न मिडियामा कार्यरत श्रमजीवि पत्रकारहरुलाई उचित पारिश्रमिक समयमै उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई प्रस्तावमार्फत आह्वान गरिएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक श्रमजीवि पत्रकारहरुलाई विनाशर्त उपलब्ध गराउनुपर्नेमा संघको भेलाले जोड दिएको छ । यो प्रदेशमा पर्यटन उद्योग प्रवद्र्धनको प्रवल सम्भावना रहेकोले राज्यको तर्फबाट सुचना तथा सञ्चार क्षेत्रलाई समायोजन गरि अगाडि बढाउन पहल गरोस् भन्ने प्रस्तावमार्फत आग्रह गरिएको छ ।

प्रादेशिक भेलाले पेशागत अधिकार क्षमता अभिवृद्धि तालिम, वैदेशिक भ्रमण र अनुभव आदानप्रदान लगायतका विषयमा मोफसलका संचारमाध्यम र संचारकर्मीलाई अवसर प्रदान गर्न नेपाल सरकार, प्रेस काउन्सिल, सूचना विभाग, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला सबैमा विशेष अनुरोध गरेको छ ।

संचारमाध्यम र सञ्चारकर्मीको बृत्ति विकास, अध्ययन अनुसन्धानका लागि प्रादेशिक स्तरमा प्राज्ञिक सञ्चार प्रतिष्ठानको स्थापनाका लागि भेलाले नेपाल सरकारसँग माग गरेको छ । प्रस्तावमा समानुपातिक विज्ञापन नीतिलाई तुरुन्त कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ ।

भेला तथा प्रशिक्षण कार्यक्रमको बन्द शत्रमा एमाओवादीका केन्द्रीय सदस्य राजकाजी तमु (करण), क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष खिलबहादुर भण्डारी, बरिष्ठ पत्रकार ओम शर्मा, केन्द्रीय सल्लाहकार कोमलनाथ बराल, बरिष्ठ पत्रकारहरु कुसुमकेशव पराजुली, नारायण भट्टराई, पदम रेग्मी, संघका ३ नम्बर प्रदेश संयोजक सुनिल खड्काले बोलेका थिए । कार्यक्रममा ४ नम्बर प्रदेश अन्तर्गत ११ वटा जिल्लाका अध्यक्ष एवं संयोजकहरुले रिपोर्टिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: