को-को ले जिते स्पोर्टस अवार्ड ? (तस्बिरसहित)

Share:

काठमाडौं, जेठ १९ – पारस खड्का र सुनिता बोहरा यसवर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । यस्तै भलिबल खेलाडी सरस्वती चौधरी लोकप्रिय खेलाडी भईन । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा नेपाली क्रिकेट टीमका कप्तान खड्का र जुडोकी बोहरा उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

पारसको नेतृत्वमा नेपाली क्रिकेट टोलीले यसवर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको थियो । वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्ने क्रममा क्रिकेटका खड्काले, सहकर्मी बसन्त रेग्मी र सुवाश खकुरेल तथा गल्फका शिवराम श्रेष्ठ र एथ्लेटिक्सका यामसाजन सुनारलाई पछि पारे ।

वर्ष २०७० मा पारस खड्काको प्रदर्शन

– बर्मुडा आइसिसी वर्ल्ड क्रिकेड डिभिजन थ्री मा एक अर्धशतकसहित १ सय ७६ रन र ६ विकेट ।

–प्रतियोगितामा सर्वाधिक रन बटुल्ने तेस्रो खेलाडी

– सिंगापुरमा भएको एसिसि इमर्जिङ टिम्स कपमा अफगानिस्तानविरुद्ध ६० रनसहित तीन खेलमा ७३ रन

– विश्व ट्वान्टी ट्वान्टी छनोटमा १० खेलमा २ सय ३२ रनका साथै ११ विकेट ।

– ट्वान्टी ट्वान्टी बिश्वकपमा पारसले हङ्गकङ्ग र बङ्गलादेशबिरुद्ध समान ४१ रन बनाउदै दुई अद्धशतकीय साझेदारीमा सामेल

यस्तै जुडोकी सुनीता बोहराले सातौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपालका लागि एकमात्र स्वर्णपदक जितेकी थिइन् । उनले एथ्लेटिक्सकी दिलमाया कार्की, पौडीकी सोफिया शाह, क्रिकेटकी सीता रानामगर र भारोत्तोलनकी तारादेवी पुनलाई पछि पारिन् ।

वर्ष २०७० मा सुनिताको प्रदर्शन

–सातौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपालका लागि एकमात्र स्वर्णपदक जितेकी खेलाडी

–७८ केजीमाथि स्पर्धामा श्रीलंकन दमयन्ती हेवा हम्बेपितियालाई हराएर स्वर्णपदक कब्जा

यस्तै भलिबल खेलाडी सरस्वती चौधरी लोकप्रिय खेलाडी भईन । एसएमएस भोटिङ र फेसुबक लाइकका आधारमा चयन गरिएको यो विधामा चौधरीले क्रिकेट कप्तान पारस खड्का, फुटबलका बिमल घर्ती मगर, पौडीकी सोफिया र एथ्लेटिक्सका यामसाजन सुनारलाई पछि पारिन् । चौधरीले ६९ दशमलव ४५ प्रतिशत एसएमएस पाइन् ।

बिमल घर्तीमगर उत्कृष्ट यूवा खेलाडी घोषित भए । उनले पौडीका शिरिष गुरुङ, उसुका विशाल थापा सिंजाली तथा क्रिकेटका सोमपाल कामी र अविनाश कर्णलाई पछि पारे ।

वर्ष २०७० मा विमलघर्ती मगरको प्रदर्शन

– आठौँ साफ च्याम्पियन्सिपान पाकिस्तानविरुद्ध खेलको अन्तिम मिनेटमा गोल गर्दै बराबरीको नतिजा दिलाउन सफल

–साफकै सबभन्दा कान्छो उमेरका गोलकर्ता

–साफ यु–१६ च्याम्पियन्सीपमा नेपाललाई फाइनलसम्म पुर्‍याउँदा भुटानविरुद्ध ह्याट्रिक

– प्रतियोगीतामा कूल ६ गोल

– नेपाल एएफसी यु १६ च्याम्पियनसिपको फाइनल चरणमा नेपालले पुर्‍याउन तुर्कमिनिस्तानविरुद्ध ह्याट्रिक,

–कुवेत र बहराइनको वैदेसिक भ्रमणअन्तर्गत एक मैत्रीपूर्ण खेलमा कुवेतको अल अरबी स्पोर्टिङ क्लबविरुद्ध ह्याट्रिक

क्रिकेटका प्रशिक्षक पुबुदु दशानायकेले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए । उनले फुटबलका बालगोपाल महर्जन, भलिबलका कपिलकिशोर श्रेष्ठ, उसुका युवराज गुरुङ र जुडोका ऋषिराम प्रधानलाई पछि पारे ।

 

वर्ष २०७० मा पुबुदु दसानायकेको प्रदर्शन

–नेपाल पहिलोपल्ट विश्व स्तरको क्रिकेट आइसिसी वर्ल्ड ट्वान्टी–ट्वान्टीमा खेल्दा प्रशिक्षक

–बंगलादेशमा भएको वर्ल्ड ट्वान्टी–ट्वान्टीमा अफगानिस्तानविरुद्ध एक दशकपछि जित निकाल्न सफल – आयोजक बंगलादेशविरुद्ध पनि कडा चुनौती / हङ्गकङ्ग विरुद्ध जीत

–  दुबईमा भएको छनोटमा एकपछि अर्को उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल ट्वान्टी–ट्वान्टी वर्ल्डकपमा पुग्न सफल । छनोटमा ६ जित र ४ हारको नतिजासहित नेपाल तेस्रो

– सुरुमै दुई खेल गुमाएर पनि नसोचिएको परिणाम निकाल्दै बर्मुडामा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रिमा नेपाल च्याम्पियन / नेपाल डिभिजन टु मा पुग्न सफल

–न्युजिल्यान्डमा भएको वान डे वर्ल्डकप छनोटमा एकक जित ।

– उनको नेतृत्वमा नेपालको इमर्जिङ टिम्स कपमा सहभागिता

–समग्रमा ट्वान्टी–ट्वान्टीमा ८ जित र ५ हार तथा ५० ओभरको क्रिकेटमा ५ जित र १० हारको नतिजा

नेपाली राष्ट्रिय टोली टिम अफ द इयर घोषित भयो । मञ्चले यसपटक लाइफ टाइम एचिभमेन्ट अवार्डबाट बैकुण्ड मानन्धर, पाराएथ्लेट अफ द इयरबाट यादव कुँवर र स्पेशल अवार्डबाट शरद भेषवाकरलाई सम्मान गरेको छ । (यो पनि पढ्नुहोस : बैकुण्ठ मानन्धर, शरद भेषवाकर र यादव कुँवरलाई अवार्ड)  उत्कृष्ट पुरुष, महिला, र लोकप्रिय विधाका खेलाडीले पल्सर मोटरसाइकल तथा अरु विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: