नाटक ‘अर्को ओरालो’ असारको पहिलो साता

Share:

पोखरा, १९ जेठ । नाटक ‘अर्को ओरालो’ असारको पहिलो साता पोखरामा मञ्चन हुने भएको छ । यूथ क्रियशन थिएटर पोखराले नाटकलाई मञ्चन गर्न लागेको हो । थिएटरका अनुसार असारको ५ देखि ७ गतेसम्म पोखरा उद्योग वाणिज्य संघको हलमा नाटक मञ्चन हुने भएको हो ।

‘रिहर्सल लगभग अन्तिम चरणमा पुगेको छ ।’ यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले भने–‘असारको पहिलो साता पोखरेलीहरुले नयाँ नाटकको स्वाद लिन पाउनेछन् ।’ नागढुंगास्थित ‘बाजेको सेकुवा’को हलमा हाल कलाकारहरुले रिहर्सल गरिरहेका छन् ।

कलाकारहरुलाई निर्देशक पुरु लम्सालले सिकाईरहेका छन् । ‘कलाकारहरुले निकै मेहेनत गरिरहेका छन् ।’ निर्देशक लम्सालले भने–‘अलिक फरक शैलीको नाटक पोखरेलीको लागि बेग्लै स्वादको हुनेछ ।’ नाटक नितान्त आधुनिक शैलीको हुने उनले प्रस्ट्याए । मञ्चन हुन लागेको ‘अर्को ओरालो’मा नयाँ प्रयोग पनि हुने उनले जानकारी दिए ।

रेम बिक, कपिल शर्मा, शर्मिला बस्नेत, उर्मिला कार्की र रोहन नेपाली नाटकका कलाकारहरु हुन् । करिब तीन सातादेखि उनीहरु रिहर्सलमा व्यस्त छन् । पोखरेली रंगमञ्चलाई व्यवसायिक बनाउनका लागि आफुहरु कस्सिएर लागेको उनीहरुले बताए । नाटक मञ्चनको व्यवस्थापन थिएटरकै सचिव सौगात पोखरेलले हेरेका छन् ।

एक वर्ष अगाडि गठित यूथ क्रियशन थिएटरले लामो समयपछि पोखरामा नाटक मञ्चन शुरु गरेको हो । यसअघि उसले नाटककार कृष्ण उदासीको निर्देशनमा पोखरासहित काठमाण्डौँमा समेत ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ मञ्चन गरिसकेको छ । यो पटक मञ्चन हुन लागेको ‘अर्को ओरालो’मा समेत ‘अन्तराष्ट्रिय रक्सी भट्टी’का केहि कलाकारहरु दोहोरिएका छन् ।

थिएटरले यो बिचमा नाटककार कृष्ण उदासीकै दुईवटा कवितालाई समेत मञ्चन गरिसकेको छ भने अभिनय कार्यशालाहरु चलाईरहेको छ । कलाकार उत्पादनसंगै व्यवसायिक रंगमञ्चिय क्रियाकलापलाई अगाडि बढाउने योजना सहित थिएटर लागिरहेको छ । यो पटक मञ्चन हुन लागेको नाटक ‘अर्को ओरालो’बाट उठेको रकम उसले थिएटर हल निर्माणमै खर्च हुने जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: