
नवराज ढुङ्गाना
पोखरा, २३ फागुन-
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अवैध लागू औषधसहित ३ जनालाई पक्राउ गरेको छ । पोखराका विभिन्न स्थानबाट शंकास्पद व्यक्तिहरुमाथि चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पोखराको चाउथेमा लागूपदार्थको कारोबार हुने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शितलादेवीका २७ बर्षीय सन्तोष गुरुंग र भेडीफारमका २६ बर्षीय मिलन गुरुंगलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले डाइजापाम ३४ थान, फेनरागन ४२ थान र नर्फिन ३७ थान बरामद गरेको छ ।
यसैगरी, बुद्धचोकबाट रुपन्देहीको खैरनीका ३५ बर्षीय राजेश कहर पनि पक्राउ परेका छन् । प्रहरीले कहरको साथबाट ९८ थान डाइजापाम, ९८ थान फेनरागन र ९१ थान नर्फिन बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
