
पोखरा, फागुन २५
माधब पनेरु
बिग आइकनको छैटौं संस्करणको ग्राण्ड फिनाले कार्यक्रम पोखराको सभागृह हलमा जारी छ । विजेता घोषणा कार्यक्रमको प्रमेख आकर्षणको रुपमा यो पटक अभिनेत्री करिष्मा मानन्धर रहेकी छिन् ।
करिश्मा मानन्धर लामो समय यता नेपाली फिल्म उद्योगमा सक्रिय छिन् । फिल्म अभिनयसँगै निर्माणमा पनि हात हालेकी करिश्माको क्रेज अझै पनि निकै राम्रो छ ।
कार्यक्रमलाई विग एफ एम १०१.२ मेगाहर्ज र ईन्टरनेट अनलाईन www.fmbig.com माफर्त सुन्न सक्नुहुनेछ । साथै कार्यक्रमलाई एभिन्युन टेलिभिजन तथा गण्डकी टेलिभिजनले समेत प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।
विग आइकनको यो सँस्करणमा कुल ४२ जिल्लाका ९ सय ३ जना प्रतिभाहरुले सहभागिता जनाएका थिए । ग्राण्ड फिनालेमा यो पटक चार जना भिड्दैछन् । चितवनका साजन आले, बागलुङकी अम्बिका पुन, गोरखाकी अनु गुरुङ र पोखराकी सृष्टि गुरुङ विग आइकनका फाईनलिस्ट हुन् ।
विग आइकन हुनेले १ लाख ७५ हजार रुपैयाँ बराबरको स्कुटर र बेलायतको साँगीतिक भ्रमणको अवसर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने एफएमले जनाएको छ ।
विग एफएमले चार जना प्रतिस्पर्धी फाईनलमा पुगेकोले यो पटक सान्तवना पुरस्कारको समेत व्यवस्था गरेको छ ।
