रात्री व्यवसाय १० बजे नै बन्द, व्यवसायीहरु भने आक्रोशित

Share:

रञ्जन अधिकारी पोखरा, २७ फागुन / पोखरामा गत महिना लगातार हत्याका घटना भए । यहाँको सुरक्षा व्यवस्थाप्रति औंला उठाउने ठाउँ रह्यो । प्रहरी प्रधान कार्यालयले माघ २९ गते तत्कालिन प्रहरी प्रमुख एसपी हरिबहादुर पाललाई महानगरीय दंगा नियन्त्रण गण, काठमाण्डौ सरुवा ग¥यो । उनको स्थानमा केन्द्रिय प्रहरी विशेष कार्यदलमा रहेका प्रहरी उपरीक्षक घनश्याम अर्याल आए । यो अवस्थामा एपसी अर्याललाई यहाँको शान्ति अमनचयन कायम तथा सुरक्षा व्यवस्था चुस्त बनाउन चुनौति छ ।

एसपी अर्याल आएको तीन साता नपुग्दै यहाँ उनको कार्यशैलीको चर्चा सुरु भईसकेको छ । उनले प्रहरी अधिकारीलाई राम्रो काम गर्न निर्देशन दिने लगायतका कामहरु सार्वजनिक रुपमै दिन थालिसकेका छन् । यसक्रममा मातहतका अधिकृतको कुरा नसुन्ने, वान वे कम्युनिकेशन मात्र भएको, सार्वजनिक स्थानमा प्रहरी अधिकारीलाई ठाडो निर्देशन दिने गरेको भन्दै आलोचना पनि भएका छन् । यसैबीच, एसपी अर्यालले पोखराका रात्रीकालीन व्यवसाय १० बजे नै बन्द गर्न आदेश दिएका छन् । यसअघि, राति ११ बजेसम्म रात्रीकालीन व्यवसाय खुल्ने गरेको थियो ।

पोखरामा ५० भन्दा बढि व्यवसाय राति सञ्चालन हुँदै आएका छन् । लेकसाईडको ओजन क्लव वाहेक अरु सवै डिस्को, डान्सवार, गजल÷दोहोरी साँझको नाम टिपेरै १० बजे बन्द गराउन मातहतका इकाइलाई निर्देशन दिएको श्रोतले बतायो । प्रहरी प्रमुख अर्यालले वडा प्रहरी कार्यालय प्रमुखहरुलाई बोलाएर बुधबार नै निर्देशन दिईसकेका छन् । अर्यालले पनि कास्कीका सबै राति सञ्चालन हुने व्यवसाय १० बजे नै बन्द गर्न आदेश दिएको पुष्टि गरे । ‘जिल्लाभर राति सञ्चालनमा रहेका सबै व्यवसाय १० बजे नै बन्द हुनेछन् । समय व्यवस्थापन मात्र गरिएको हो । व्यवसाय बन्द गर्न आदेश होईन ।’ उनले बिग एफएमसँग भने– ‘दोहोरी साँझ, डिस्को, डान्सबारले गर्दा होहल्ला भएको, ध्वनी प्रदुषण भएको गुनासो सर्वसाधारणबाट अत्यधिक आयो । त्यसैले यो कदम चाल्न बाध्य भएका हौं ।’

एसपी अर्यालले राति ११ बजे भनिएपनि मध्यराति १२, १ बजेसम्म होहल्ला गरी व्यवसाय सञ्चालन गरेकाले यो निर्णय गरेको स्पष्ट पारे । ध्वनी प्रदुषण नियन्त्रण, हत्या हिंसा लगायतका घटनामा कमी ल्याउन पनि यो कदम आवश्यक रहेको उनको ठम्याई छ ।

विकृति बढेको भन्दै व्यवसाय सञ्चालनको अवधी १० वजे सम्मको लागि तोकिएपछि व्यवसायीहरु भने आक्रोशित बनेका छन् । भुकम्प र नाकाबन्दीले झण्डै वर्ष दिनसम्म मन्दी आएका बेला प्रहरीको यो एकल निर्णयले बल्ल तंग्रन थालेको व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने भएकाले प्रहरीलाई निर्णय सच्याउन उनीहरुले आग्रह गरे । तर, एसपी अर्याल भने आफु व्यक्तिगत रुपमा चौबिसै घण्टा खुलोस् भन्ने चाहने मान्छे भएको भन्दै कुनै पनि व्यवसाय विरुद्धको निर्णय नभएको बताउँछन् । ‘यहाँका व्यवसाय धराशायी होस् भन्ने मेरो चाहना होईन । चौबिसै घण्टा खुलोस् भन्ने चाहना हो’ – उनले बिग एफएमलाई भने– ‘मेरो आशयलाई गलत तरिकाले बुझियो । बुझ्ने गरी सन्देश दिनुहोला ।’ उनले पोखरामा चैत १ देखि हुने सार्क विदेशमन्त्री स्तरीय बैठक लगायतका कारण पनि सुरक्षालाई मध्येनजर गर्दै यसो गर्नुपरेको बताए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक वीरेन्द्र गोदारले व्यवसायीहरुलाई विहान डाकेर एसपीको आदेशबारे जानकारी गराएका थिए । त्यसपछि विहीबार दिउँसो नै पर्यटकीय शहर पोखराको लेक साइड र महेन्द«पुलमा संञ्चालनमा रहेका दोहोरी सांझ, डान्सवार, लाइभ म्यूजिक, गजल सांझ लगायतका रात्रीकालिन व्यवसाय सञ्चालकहरु जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेर प्रहरी उपरीक्षक अर्याललाई भेटे । तर, प्रमुख अर्यालय आफ्नो अडानबाट टसमस नभएपछि निर्णय विरुद्ध व्यवसायीहरुले सांकेतिक विरोध स्वरुप विहीबार आफ्ना सवै व्यवसायहरु बन्द गराएका छन् ।

पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न पाउने माग भइरहेको वेला कास्की प्रहरीको पछिलो कदमले व्यवसायीहरु निराश देखिएका छन् । पोखरा लोकदोहोरी व्यवसायी संघका अध्यक्ष सिम गुरुङ यो अवस्थामा व्यवसायलाई राज्यको तर्फवाट प्रवद्र्धनका लागी टेवा दिनुपर्नेमा उल्ट धरापमा पार्दै वन्द गराउन तर्फ उद्धत भएको भन्दै आक्रोश व्यक्त गर्छन् । ‘१० बजे नै बन्द गर्नुपर्ने भएपछि साढे ९ बजेदेखि नै पुलिसले टेन्सन दिन्छन् । खाईरहेको मान्छेलाई जाउ भन्न मिलेन । बढि ग्राहक नै १० देखि ११ बजे सम्म आउँछन् ।’ उनले भने । उनले कास्की प्रहरीको यो कदमको निकासका लागी राज्यको ध्यानाकर्षण गराइने वताए । शुक्रवार कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली समक्ष ज्ञापन पत्र वुझाइने गुरुङले जनाए । उनका अनुसार पोखरा उद्योग वाणिज्य संघ, लोकदोहोरी प्रतिष्ठान लगायतसँग ऐक्येबद्धताका लागि छलफल भईरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: