रेम बिक पोखरा, २१ जेठ । प्रचारप्रसारको क्रममा नेपाली फिल्म ‘मुखौटा’को टोली पोखरा आईपुगेको छ । पोखरा आईपुगेको टोलीले पोखराको विभिन्न कलेजका विद्यार्थीहरुसंग भेटघाट गरि फिल्मको प्रचार ग¥यो । फिल्मका मुख्य कलाकार सुनिल थापा, निशा अधिकारी र निर्माता रविन श्रेष्ठसहितको टोलीले चार वटा कलेजमा पुगेर त्यहाँका विद्यार्थीहरुलाई फिल्म हेर्न आग्रह ग¥यो ।
जनप्रिय उच्च मावि, पोखरा कलेज अफ म्यानेजमेन्ट, स्पाईरल ग्यालेक्सी उच्च मावि र सगरमाथा निकेतनका विद्यार्थीहरुलाई टोलीले टिसर्ट तथा फुटबल समेत वितरण ग¥यो । सुनिल थापा (राते काँईला) र नायिका निशा अधिकारी नै कलेज कलेज पुगेर फिल्म हेर्न आग्रह गरेपछि विद्यार्थीहरुले पनि फिल्मप्रति चासो देखाएका थिए ।
कलेज प्रचार सकिएपछि टोलीले पोखराका संचारकर्मीहरुसंग पनि भेटघाट गरेको थियो । संचारकर्मी भेटघाटको क्रममा फिल्मका मुख्य कलाकार सुनिल थापाले फिल्म निकै राम्रो बनेको बताए । ‘फिल्म हेरेर दर्शकले मनोरञ्जन प्राप्त गर्ने कुरामा कुनै दुईमत छैन ।’ थापाले भने–‘निर्माता, निर्देशक र कलाकारहरुले पनि दिल खोलेर आफ्नो लगानी गरेका छन् त्यसैले यो फिल्म हेर्नुपर्ने बनेको छ ।’
सबै खर्च जोडर प्रदर्शनमा आईसक्दासम्म फिल्मको लागत एक करोड रुपैँया कट्ने निर्माता रविन श्रेष्ठले जानकारी दिए । ‘निर्माणको क्रममा कुनै पनि कुरामा सम्झौता गरिएको छैन, नेपाली फिल्मको स्तरोन्नती र विदेशी बजार खोज्ने अभियानको क्रममा हामीले यो फिल्म निर्माण गरेका हौँ ।’ निर्माता श्रेष्ठले भने–‘हामीले एउटा गतिलो प्रयास गरेका छौँ, यसमा दर्शकले साथ दिनुहुनेछ भन्ने अपेक्षा हामीले राखेका छौँ ।’
नेपाली फिल्ममा चलेका कलाकारहरुलाई एउटै फिल्ममा अटाएकै कारण पनि ‘मुखौटा’ चर्चामा रहेको छ । यो फिल्ममा राजेश हमाल, सुनिल थापा, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, प्रशान्त ताम्राकार, रोविन तामाङ, निशा अधिकारी र हर्षिका श्रेष्ठको मुख्य भुमिका रहेको छ । ‘मुखौटा’ कलाकार अर्पण थापाको पहिलो डेब्यू निर्देशन रहेको फिल्म हो ।
जेठ ३० गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म मुख्यत अन्डरवल्र्ड डनहरुको कथामा आधारित रहेको निर्माणपक्षले जानकारी दिएको छ । काठमाण्डौको ठमेलमा विकसित डन सँस्कृतिको कथालाई यो फिल्मको मुख्य कथा बनाईएको उसले बताएको छ । सस्पेन्स थ्रीलर विधामा बनेको यो फिल्ममा डनगिरीसंगै लागुऔषध, हिप्पी शैली, मारकाट र गानाबजानालाई पनि समेटिएको निर्माणपक्षले जनाएको छ ।
