पोखरामा भोलीदेखि सुरु हुने सार्क मन्त्रीस्तरीय बैठकको तयारी पूरा

Share:

पोखरा, ३० फागुन-

पोखरामा चैत १ गतेदेखि हुने सार्क विदेशमन्त्री स्तरीय बैठकको तयारी पूरा भएको छ । क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले बैठकको सबै तयारी पूरा भएको जनाएका हुन् । बैठकका लागि पोखरामा आजदेखि नै पाहुनाहरु आउने क्रम सुरु हुने भएकाले त्यही अनुसार तयारी र सुरक्षा प्रबन्ध मिलाईएको उनले बताए ।

बैठकलाई लक्षित गर्दै पोखरा सिँगारिएको छ ।

बैदाम क्षेत्रमा सरसफाई गरिएको छ । ड्यामसाईड क्लबको आयोजन, स्थानीय संघसंस्था र सुरक्षा निकायको सहकार्य, पोखरा उपमहानगरपालिकाको सहयोगमा सरसफाई गरिएको हो ।

पोखरा विमानस्थल नजिकको सडक क्षेत्र, मुस्ताङचोक, ड्यामसाईड, विरौटा, पुल्चोक र बैठक स्थल होटल पोखरा ग्राण्ड अगाडिको सडक क्षेत्रमा सरसफाई गरिएको क्लबका अध्यक्ष पदमबहादुर ढकालले जानकारी दिए । ‘पोखरामा सार्क मिनि सम्मेलनको रुपमा चिनिने बैठक हुँदैछ । हामी स्वच्छ र सफा शहर भन्छौं । पर्यटकलाई फोहोर पोखरा देखाउनुभएन ।’– ढकालले भने– ‘त्यसैले मुल आयोजक समितिले दिएको जिम्मेवारी अनुसार नै क्लबले सरसफाई कार्यक्रमको अगुवाई गरेको हो ।’

करिब पाँच किलोमिटर क्षेत्रमा भएको सरसफाईबाट ८ ट्रक फोहोर संकलन गरिएको उनले जनाए । सरसफाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी ३५० जना सहभागी भएको कार्यक्रम समन्वयकर्ता एवं क्लब सचिव रमेश बरालले बताए ।

पोखरा उपमहानगरपालिका कार्यालय सरसफाई शाखा अधिकृत चुडामणि तिवारीले आवश्यक परेको खण्डमा अन्य संघसंस्थालाई पनि सरसफाई कार्यक्रम गर्न आग्रह गरिने र यसमा कार्यालयले गाडी दिएर सहयोग गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: