
रञ्जन अधिकारी पोखरा, ३ चैत / फेवा विकास बैंक, पोखराका अध्यक्ष जगन गुरुङले बुधबार पदबाट राजिनामा दिएको घोषणा गर्दै अदालतमा दायर मुद्धा पनि फिर्ता लिएको जनाएका छन् । बैंकको संचालक समितिले आफुलाई बाईपास गरी अघि बढेको र समयमै साधारणसभा गर्न नसकेको जनाउदै अध्यक्ष पदबाट राजिनामा दिएको बताए ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नो राजिनामाको बिषयमा प्रष्ट पार्दैै उनले पौष मसान्त अगावै साधरणसभा गर्नुपर्ने भएपनि सहमति गरे अनुसार फागुन मसान्तसम्म पनि साधारणसभा गर्न बोर्डले नसकेकाले नैतिकताका आधारमा आफुले राजिनामा दिएको उल्लेख गरे ।
‘अध्यक्षको नाताले केहि नैतिक जिम्मेवारी मैले पनि लिन्छु, तर साधारणसभा वोलाउन खोज्दा संचालक समितिका पदाधिकारीहरुले असहयोग गरेको हुनाले मैले चाहेर पनि साधारणसभा बोलाउन सकिनँ’ उनले भने– ‘यसमा बोर्डले नै साधारण सभा वोलाउनु पर्ने हो तर अहिले संचालक समितिको कार्यकाल नै सकिएको छ ।’
सञ्चालक वोर्डको औचित्य समाप्त भएको बताउँदै उनले बोर्ड विवाद भएकोले केहि मर्जरका प्रस्तावहरु अघि बढे पनि अव्यवहारीक भएको भन्दै आफुले त्यसलाई नमानेको कारणले गर्दा संचालकहरुले आफु विरोधी कृयाकलाप गर्न थालेको अध्यक्ष गुरुङले गुनासो गरे । बैंकका संचालकहरुबीचको विवादले गर्दा कैलाश विकास बैंक र बिजनेश युनिभर्सल डेभलपमेन्ट बैंकसंग मर्जर गर्ने काम अघि बढेर पनि हुन सकेन । आफ्नो राजिनामा सहित उनले बैंकका केहि संचालकहरुले अध्यक्ष पदबाट हटाउने गैरकानुनी प्रयास बिरुद्ध अदालतमा गएको मुद्धाको समेत कुनै औचित्य नहुने भएकोले सो मुद्धा समेत फिर्ता लिने निर्णय गरेको उद्घोष गरे । सञ्चालक समितिको बहुमतका साथ रामभक्त रञ्जितलाई बैंकको अध्यक्षमा चयन गरेपछि गुरुङले पुनरावेदन अदालतमा मुद्धा दायर गरेका थिए । अहिले मुद्धा विचाराधिन अवस्थामा छ ।
फेवा विकास बैंकको वोर्डमा विवाद भए पनि व्यबस्थापन पक्षमा कुनै असर नपारेको बताएका अध्यक्ष गुरुङले आफुले विगत ८ बर्ष देखि विश्व विकास बैंकको अध्यक्ष सम्हालेको अनुभवको कारणले गर्दा पनि आफु कुनै वित्तिय संस्था हाक्न सक्ने क्षमता भएको दाबी गरे । साधारण सभाबाट नयाँ म्याण्डेड पाएको खण्डमा पुनः अध्यक्ष पदभार सम्हाल्न आफु तयार भएको समेत उनले बताए । उनले खुल्ला प्रतिष्पर्धाका आधारमा सक्षम व्यक्तिलाई प्रमुख कार्यकारी नियुक्ति गर्नुपर्ने आफ्नो अडान दोहो¥याए ।
फेवा विकास बैंकका संचालक विन्दुकुमार थापाले जगन गुरुङले दिएको राजिनामाको कुनै औचित्य नभएको बताए । उनले मर्जर बिरोधी भएको कारणले गर्दा केही महिना अघि नै गुरुङलाई अध्यक्षबाट पदच्युत गरेको जनाए । मर्जर प्रकृयाले गर्दा साधाराणसभा समयमै गर्न नसकेको बताउदै संचालक थापाले साधारणसभा पछि नयाँ वोर्डले मर्जर प्रकृया अघि बढाउने बताए । फेवा विकास बैंकको हालै सम्पन्न सेयर सदस्यहरुको बृहत भेला र लगत्तै बसेको संचालक तथा सेयरधनीहरुको बैठकले विवाद टुंगाउने गरी साधारणसभा बोलाउने सहमति भएको छ । वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा संयोजक रहेको सो समितिले लगानी कर्ताहरुको सुझावलाई मध्यनजर राख्दै तत्काल मर्जरमा जानुभन्दा पनि फागुन मसान्तभित्र साधारण सभा गर्ने सर्वसम्मत सहमति गरेको थियो ।
