
रन्जन अधिकारी
पोखरा ५, चैत-
हालै भारतमा सम्पन्न भएको १२ औं दक्षिण एशियाली खेलकुद (साग) मा यस क्षेत्रबाट सहभागी खेलाडीलाई शुक्रबार नगद सहित सम्मान गरिएकोे छ । खेलाडीहरुको हौसला स्वरुप नयाँ खेलाडीहरुलाई प्रेरणा जगाउने उद्धेश्यले सागमा सहभागी भई पदक जिेतका खेलाडीहरुलाई एक समारोहका बीच कास्की जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको हो ।
पोखरा उप–महागनरपालिका कार्यालयको तत्वावधान, क्षेत्रिय खेलकुद विकास समितिको संयोजनमा भएको कार्यक्रममा सागमा पोखराबाट सहभागी चार खेलाडी र एक प्रशिक्षकलाई जनही नगद १० हजार, प्रशंसा पत्रका साथमा सम्मान गरिएको हो । १२ औं सागमानेपालले फुटबल खेलमा स्वर्ण पदक जित्दा पोखराका हेमन गुरुङ र मानबहादुर तामाङ सहभागी भएका थिए । उनीहरु राष्ट्रिय बन्द प्रशिक्षणमा रहेको हुनाले कार्यक्रममा उपस्थित भएनन्। उनीहरुलाई पछि सम्मान गरिने कार्यालय प्रमुख प्रकाश बरालले बताए ।
उसुमा रजत पदक जितेकी झरना गुरुङ, महिला भलिबलमा कास्य पदक जित्दा नेपाली टीममा सहभागी मञ्जु गुरुङ, अरुणा साई र मनिषा चौधरी सम्मानित भए । महिला भलिबलकी सहायक प्रशिक्षक कौशिला खत्रीलाई पनि सम्मान गरियो । उसुका प्रशिक्षक अरुण दत्तलाई पछि सम्मान गरिने बरालले जनाए ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि चौथो सागका स्वर्णधारी चित्रबहादुर गुरुङले खेल र अनुशासन एकअर्कामा परिपुरक भएकाले खेलाडी अनुशासनमा रहनुपर्नेमा जोड दिए । पाकिस्तानको ईस्लामावादमा भएको प्रतियोगितामा बक्सिङमा स्वर्ण जितेका उनी आधा दर्जन खेलमा निपुर्ण छन् ।
सांसद सीता गिरी ओलीले खेल जगतले विश्वमाझ मुलुकलाई चिनाउन सक्ने र यो खेलाडीबाट मात्र सम्भव भएको भन्दै यसमा सरकारले लगानी गर्नुपर्ने बताईन् । उनले खेलाडी पनि अनुशासनमा रहनुपर्ने भन्दै खेलको केन्द्रका रुपमा पोखरालाई विकास गर्न सकिने बताईन् ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले यहाँको समग्र विकासमा सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताए । नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आफु मेयर हुँदा थुप्रै विकास निर्माणका कामहरु गरेको जानकारी गराउँदै यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने प्रमुख आधार अन्तर्राष्ट्रिय विमानस्थल रहने बताए । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउन पनि पोखरा सक्षम रहेको जनाउँदै पोखरा उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने बताए । पुर्व खेलाडी तथा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खेलक्षेत्र राजनीतिबाट अलग हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार विरुद्ध खेलाडीहरु उत्रनुपर्ने बताए ।
कार्यक्रममा स्वागत गर्दै क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले १३ औं साग नेपालमा हुने निश्चित भएको अवस्थामा यसको शुभारम्भ कार्यक्रम तथा केहि खेलहरु पोखरामा गर्नुपर्ने र यसका लागि सबै जाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पोखराबाट सागमा सहभागी भएर पदक जिताउन भुमिका खेलेका खेलाडीको हौसला थप्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए । आगामी सागको १३ औं संस्करण पोखरामा गर्न पाउनु पर्ने जोडदार माग गर्ने र यहाँका सबै खेलकुद संघसंस्थाको मुख्य एजेण्डा नै यही हुने बताए ।
