
पोखरा, १५ चैत / पोखरा जेसीजमा सदस्य बन्न ईच्छुक युवालाई सदस्यता प्रदान गरिएको छ । संस्थाका वृद्धि सभापति शिवराज घिमिरेका अनुसार यस वर्ष ३४ जनालाई अस्थायी सदस्यता प्रदान गरिएको हो ।
नयाँ सदस्यहरुलाई अभिमुखिकरण तालिम पनि प्रदान गरिएको छ । नवप्रवेशीलाई जेसिआई र जेसिआई पोखरा शाखाको बारेमा जानकारी दिने उद्देश्यले सो तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ ।
तालिममा पुर्व अध्यक्ष तथा प्रमुख प्रशिक्षक सिनेटर विष्णु बहादुर थापाले जेसीआइको परिचय, आस्था, मिसन, भिजन र यसका क्षेत्रहरुको बारेमा प्रशिक्षण दिए । जेसीआई पोखराका महासचिव सन्तोष शाहीले जेसीआइ, जेसीआइ नेपाल र जेसीआइ पोखराको इतिहासको बारेमा जानकारी गराए भने बोर्ड सल्लाहकार दिपेन्द्र पहारीले उत्प्रेरणा सम्बन्धी तालिम प्रदान गरेका थिए ।
जेसीआई पोखरा २०१६ का अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तालिम आयुक्त सुवास सुवेदी र निवर्तमान अध्यक्ष छविलाल सुवेदीले नवप्रवेशी सदस्यहरुलाई शुभकामना दिँदै जेसीआइबाट प्राप्त हुने अवसर भरपुर उपयोग गर्दै आफ्नो व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्न सुझाव दिए ।
कार्यक्रममा सहभागीहरुलाई प्रमुख प्रशिक्षक विष्णु बहादुर थापा र निवर्तमान अध्यक्ष छविलाल सुवेदीले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको संयोजन शिव के.सीले गरेका थिए भने सञ्चालन सचिव मिनराज खड्काले गरेका थिए । कार्यक्रममा जेसीआई पोखराका सञ्चालक समितिका पदाधिकारीहरु र साधारण सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
