
काठमाडौं, ६ बैशाख-
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियाबिरुद्धको दोश्रो खेलमा पनि नेपालले शानदार जीत हासिल गरेको छ ।
नामिबियाले दिएको २ सय ४० रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै ७ विकेटको क्षतिमा भेट्टायो ।
खेलमा कप्तान पारस खड्काले शानदार शतक प्रहार गरे ।
उनले ८९ बलमा ७ छक्का र पाँच चौकाको सहयोगमा शतक प्रहार गर्दै १ सय ३ रन जोडेका थिए । पारस र शरदले एक सय ६४ रनको साझेदारी गरे ।
शरदले नटआउट ७७ रन बनाए । विनोद भण्डारीले १२ तथा सागर पुनले दुई रन बनाए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २२ तथा राजेश पुलामि र सोमपाल कामीले एक एक रन बनाए । बसन्त रेग्मीले एक रन बनाए । नामिबियाका सारेल बर्गरले तीन, जिभागो ग्रोइनेवाल्ड दुई तथा गेरी स्नाइमन र जेजे स्मिथले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । नेपालका शक्ति गौचन, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान दुई विकेट लिए ।
शनिबार नेपालले नामिबियालाई पाँच विकेटले हराएको थियो । आजको जीतसँगै नेपालको विश्वकप छनौट खेल्ने सम्भावना निकै बलियो बनेको छ ।
