
रञ्जन अधिकारी, पोखरा ४ असार । गत जेठ ३१ गते प्रकाशित एसएलएसी परीक्षा २०७० को नतिजा अनुसार यस वर्ष मुलुकभर ४३.९२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । पछिल्ला वर्षहरुमा एसएलसी नतिजा सन्तोषजनक छैन । पाँच वर्ष यता लगातार आधाभन्दा बढी अनुत्तीर्ण हुँदै आएका छन् । आंशिकतर्फ करीब ८९ प्रतिशत विद्यार्थी फेरि अनुत्तीर्ण भए ।
यस वर्षको एसएलसी परीक्षामा देशभरका तीन सय ३१ विद्यालयको नतिजा शुन्य रहेको छ । यसमध्ये पश्चिमाञ्चलका २५ विद्यालय निल भएका छन् । पश्चिमाञ्चलमा एक हजार नौ सय ६० विद्यालयबाट विद्यार्थी सहभागी थिए ।
कास्कीका दुई सामुदायिक विद्यालय निल भएका छन् । अर्मला ६ स्थित अन्नपूर्ण माविबाट ११ जना विद्यार्थी सहभागी भएकामा सबै अनुत्तिण भए । सो विद्यालयबाट सात छात्र र चार छात्रा परीक्षामा सहभागी थिए । यस्तै, सोधा स्थित दुधपोखरी माविबाट चार छात्र र चार छात्रा गरी आठ विद्यार्थी सहभागी भएकामा कोहि उत्तीर्ण भएनन् । भिमकालीपाटन स्थित संस्कृत माविबाट पाँच छात्र र छ छात्रा गरी ११ जनाले परीक्षा दिएकोमा प्राविधिक कारणवश नतिजा शुन्य आएकाले परीक्षा नियन्त्रण कार्यालयमा जानकारी गराईसकेको विद्यालयले जनाएको छ ।
मुलुकभर यस वर्षको परीक्षामा नौ हजार एक सय ८७ विद्यालय सहभागी भएकामा छ हजार ४५ सामुदायिक र तीन हजार एक सय ४२ संस्थागत थिए । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार सामुदायिक विद्यालय मात्रै निल भएका होईनन्, ५० संस्थागत विद्यालय र दुई सय ८१ सामुदायिक विद्यालयको नतिजा शुन्य आएको छ ।
पूर्वाञ्चलमा एक हजार नौसय १९ विद्यालयमध्ये एक सय ३६ विद्यालय निल भएका छन् भने मध्यमाञ्चलमा तीन हजार दुई सय ८५ सहभागी भएकामा ५७ विद्यालयको नतिजा शुन्य आएको छ । मध्यपश्चिमाञ्चलमा एक हजार ९५ विद्यालय सहभागी भएकामा ३७ विद्यालयले कुनै विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । नौ सय २८ विद्यालयले सहभागिता जनाएको सुदुर पश्चिममा ७६ विद्यालयको नतिजा शुन्य रहेको छ ।
कास्कीको नतिजा सन्तोषजनकः
कास्कीमा यो वर्ष नियमित तर्फ ६८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । गत वर्ष ६७.५ प्रतिशत उत्तीर्ण भएका थिए । जिल्लामा नियमिततर्फ नौ हजार दुई सय २६ विद्यार्थी प्रवेशिका परीक्षामा सहभागी भएकामा छ हजार तीन सय ५२ जना उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालय कास्कीले जानकारी दिएको छ । विशिष्ट श्रेणीमा सात सय ६९, प्रथम श्रेष्णीमा तीन हजार नौ सय १८, द्वितीय श्रेणीमा एक हजार छ सय १२ र तृतीय श्रेणीमा ५३ जना विद्यार्थी उत्तीर्ण भए । ३७ जनाको नतिजा रोकिएको छ ।
परीक्षामा छात्र चार हजार छ सय ९९ तथा छात्रा चार हजार पाँच सय २७ जना सहभागी थिए । उत्तीर्ण हुनेमा तीन हजार पाँच सय ६५ छात्र र दुई हजार सात सय ८७ छात्रा छन् । छात्र उत्तीर्ण प्रतिशत ७५.८७ र छात्रा ६१.५६ रहेको छ ।
मुलुकभर सामुदायिक विद्यालयतर्फका करीब २८ प्रतिशत उत्तीर्ण भएकामा कास्कीमा सामुदायिक विद्यालय तर्फका ४३.९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । कास्कीमा नीजि तर्फका विद्यार्थी भने गत वर्षको तुलनमा यस वर्ष बढी उत्तीर्ण भएका छन् । यस वर्ष ९२.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भए ।
कास्कीमा सामुदायिक तर्फका चार हजार पाँच सय १८ विद्यार्थी सहभागी भएकामा एक हजार नौ सय ८६ जना मात्रै उत्तीर्ण भएका हुन् । छात्र उत्तीर्ण प्रतिशत ५२.६१ रह्यो भने छात्रा उत्तीर्ण प्रतिशत ३६.६३ मात्र रहेको छ । सामुदायिक विद्यालयका ३८ जनाले विशिष्ट श्रेणीमा उत्तीर्ण गरेकामा ३१ जना छात्र र सात जना छात्रा छन् । यस्तै, संस्थागत विद्यालयका चार हजार सात सय आठ जना सहभागी भएकामा चार हजार तीन सय ६६ जना उत्तीर्ण भए । छात्र र छात्रा उत्तीर्ण प्रतिशत क्रमशः ९४.२१ र ९०.८७ रहेको छ । जिल्लामा निजी विद्यालयका सात सय ३१ जना विशिष्ट श्रेणीमा उत्तीर्ण भएकामा पाँच सय तीन छात्र र दुई सय २८ छात्रा छन् ।
कास्कीमा यो वर्ष एक्जाम्टेड तर्फ एक हजार ९८ जनासहभागी थिए । एक सय ४० विद्यालयबाट छात्र तीन सय ५७ तथा छात्रा सात सय ४१ सहभागी भएकामा दुई सय १४ जना मात्रै उत्तीर्ण हुन सफल भए । ६६ जना छात्र र एक सय ४८ जना छात्रा उत्तीर्ण भए । ८० प्रतिशत बढि फेरि अनुत्तीर्ण भए ।
पश्चिमाञ्चलका आधा जिल्लाको नतिजा खस्कियो
कास्की सहित पश्चिमाञ्चलका १६ जिल्लामध्ये आठ जिल्लाको नतिजामा सुधार आएको छ भने आठ जिल्लाको नतिजा खस्किएको छ । नियमित तर्फ कास्की लगायत लमजुङ, तनहुँ, पर्वत, गोरखा, मनाङ, म्याग्दी र पाल्पाको नतिजामा केहि सुधार आएको छ । स्याङ्जा, बाग्लुङ, मुस्ताङ, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही र नवलपरासीको नतिजा खस्केको छ ।
लमजुङमा ५०.१५ प्रतिशतबाट बढेर ५३.८२ प्रतिशत उत्तीर्ण भए । जिल्लाबाट तीन हजार दुई सय पाँच जनाले परीक्षा दिएकोमा एक सय पाँच विशिष्ट, सात सय तीन प्रथम, आठ सय ४७ द्वितीय र ४२ जना तृतीय श्रेणीमा उत्तीर्ण भए । ८९ मध्ये एक सामुदायिक विद्यालय निल भएको छ । छ नीजि विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
स्याङ्जामा भने गत वर्षको तुलनामा यस वर्ष कम विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ४१.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष घटेर उत्तीर्ण प्रतिशत ३८.८८ पुगेको छ । छ हजार एक सय परीक्षार्थी सहभागी भएकामा दुई हजार चार सय पाँच जना उत्तीर्ण भए । एक सय आठ विशिष्ट, एक हजार एक सय ५९ पंथम, एक हजार ९८ द्वितीय र ४० जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
पवर्तमा ३६.४० प्रतिशतबाट बढेर ४०.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । तीन हजार एक सय १९ परीक्षार्थी मध्ये एक हजार दुई सय ६९ जना उत्तीर्ण भएका हुन् । विशिष्ट श्रेणीमा ५०, प्रथम श्रेणीमा चार सय ८९, द्वितीय श्रेणीमा सात सय चार र तृतीय श्रेणीा २६ जना उत्तीर्ण भए ।
म्याग्दीमा पनि गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत निकै बढेको छ । पाँच सामुदायिक विद्यालयले शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत वर्ष ६७.५६ प्रतिशत उत्तीर्ण भएका थिए भने यस वर्ष उत्तीर्ण प्रतिशत ७२.०७ पुगेको छ । कुल दुई हजार ३० जना परीक्षार्थी सहभागी भएकामा २३ जना विशिष्ट, पाँच सय ७५ जना पंथम, आठ सय ४४ जना द्वितीय र १८ जना तृतीय श्रेणीमा गरी एक हजार चार सय ६० जना उत्तीर्ण भए ।
हिमाल पारीको जिल्ला मनाङमा गत वर्ष ३०.४३ प्रतिशत तथा यस वर्ष ४१.६७ प्रतिशत उत्तीर्ण भए । मनाङमा ६० जना परीक्षार्थी रहेकोमा २५ जना मात्रै उत्तीर्ण भएका हुन् । चार विद्यालयबाट सहभागी विद्यार्थी मध्ये तीन जना प्रथम र २२ जना द्वितीय श्रेणीमा उत्तीर्ण हुन सफल भए । तनहूँमा गत वर्ष ४५.९ प्रतिशत उत्तीर्ण भएकामा यस वर्ष बढेर ५०.६६ प्रतिशत पुगेको छ ।
मुस्ताङमा ८२.०५ प्रतिशतबाट घटेर ७२.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । परीक्षामा सम्मिलित १ सय १३ जनामध्ये ८२ जना उत्तीर्ण भए । सात सामुदायिक र एक संस्थागत विद्यालयले परीक्षामा भाग लिएकोमा तीन विशिष्ट, ४३ प्रथम र ३६ जना विद्यार्थी द्वितीय श्रेणीमा उत्तीर्ण भए ।
बाग्लुङमा ३३.१९ बाट घटेर ३२.२८ प्रतिशत मात्रै उत्तीर्ण भए । गोरखामा २०६९ मा ५२.८ प्रतिशत उत्तीर्ण भएका थिए भने यस वर्ष बढेर ५७.८३, पाल्पामा ४२.८९ प्रतिशतबाट बढेर ४५.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । यस्तै, गुल्मीमा ४४.४५, अर्घाखाँचीमा ३२.९२, कपिलबस्तुमा २४.६६, रुपन्देहीमा ५६.४१, नवलपरासीमा ५१.२६ प्रतिशत विद्यार्थी यसवर्ष उत्तीर्ण भए ।
५८ विद्यालय शतप्रतिशत उत्तीर्ण गराउन सफलः
कास्कीका अधिकांश निजी विद्यालयका परीक्षार्थीहरु शत प्रतिशत उत्तीर्ण भएका छन् । एक सामुदायिक तथा ५७ संस्थागत विद्यालयबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण भए । लामाचौर घार्मी स्थित महेन्द्र माविले सामुदायिक तर्फ शतप्रतिशत नतिजा ल्याएको हो । पाँच छात्र र दुई छात्रा गरी सात जनाले परीक्षा दिएकोमा दुई जना प्रथम र पाँच जना द्वितीय श्रेणीमा उत्तीर्ण भएका छन् ।
यस्तै, शत प्रतिशत नतिजा प्राप्त गर्ने निजी विद्यालयहरुमा गण्डकी उच्च मावि लामाचौर, मदरल्याण्ड उच्च मावि, शिशु निकेतन, पश्चिमाञ्चल उच्च मावि, स्टेप बाई स्टेप उच्च मावि, केफ उच्च मावि, बागमारा एकेडेमिक गार्डेन भरतपोखरी ४, हेम्जा बोर्डिङ, मर्निङ स्टार नागडाँडा, रत्नज्योति, टप्स उच्च मावि, कुमुदिनी होम्स, सोसियल पब्लिक स्कुल, हिमाञ्चल बोर्डिङ स्कूल, एसओएस हर्मन माईनर स्कूल, ज्ञानोदय मावि बैदाम, सूर्योदय ईङ्गलिस बोर्डिङ स्कूल दीप, शान्ति निकुञ्ज बोर्डिङ पार्दी, मेरीगोल्ड बोर्डिङ नयाँगाउँ, बालोदय उच्च मावि, आदर्श ईङ्गलिस बोर्डिङ फूलबारी, पोखरा पब्लिक स्कुल चिप्लेढुंगा, बालविद्या मन्दिर बोर्डिङ मियापाटन, शारदा ईङ्गलिश बोर्डिङ, बालप्रभात बोर्डिङ, हिलसाईड बोर्डिङ, न्यु लाईट उच्च मावि, कञ्चनजंघा एकेडेमिक सेन्टर शिशुवा, फिस्टेल एकेडेमी, सिद्दिविनायक, नेशनल ईन्भेन्टिभ, एलपी देवकोटा मेमोरियल पार्दी, ज्ञान ज्योति विद्याकुञ्ज लेखनाथ १३, एक्स आर्मी पब्लिक छोरेपाटन, गोल्डेन नेचर खुदी, त्रिवेणी पब्लिक स्कूल लेखनाथ, न्यु मुनलाईट रानीपौवा, युनिभर्स स्कूल राजाको चौतारा, शान्तिवाटिका सातमुहाने, तारापुञ्ज एजुकेशन एकेडेमी, पायोनियर एकेडेमी, विद्या निकेतन, पोखरा एकेडेमी बाटुलेचौर, वेष्ट प्वाईन्ट बोर्डिङ, मेट्रो पोलिटन, न्यु लेखनाथ पब्लिक एकेडेमी, गुरुकुल विद्याश्रम लेखनाथ १२, सैनिक आवासीय मावि पोखरा, वीरेन्द्र मेमोरियल, शान्ति निकेतन, हाई माउण्ट, सगरमाथा निकेतन, राईजिङ स्टार, बड्स एजुकेशन फाउण्डेशन, डिज्नील्याण्ड एकेडेमी मासबार, केल्स एकेडेमी र लेखनाथ मेमोरियल बोर्डिङ लेखनाथ रहेका छन् ।
कास्कीमा शर्मा सर्वोत्कृष्टः
कास्की जिल्लामा शिशु निकेतनका आशिष शर्माले सर्वाधिक अंक प्राप्त गरेको विद्यालयले जनाएको छ । आशिकले ८०० पूर्णांकमा ७३३ अर्थात् ९१.६३ अंक ल्याएका हुन् । छात्रातर्फ सो विद्यालयकै श्रृंखला श्रेष्ठले ८९.७५ प्रतिशत ल्याएकी छिन् ।
सामुदायिक विद्यालय मध्येबाट सबैभन्दा बढी अंक अमरसिंह उच्च माविका सन्दिप लामिछानेले ७०२ अर्थात् ८७.७५ प्रतिशत अंक प्राप्त गर्दै छात्रतर्फ कास्की टपर बनेको विद्यालयले जनाएको छ । छात्रातर्फ पनि अमरसिंहकै सन्ध्या भुजेलले ८३.३३ प्रतिशत अंक ल्याएकी छिन् । यद्यपी, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज पोख्रेलले भने केन्द्रबाट मार्कसिट नआई सर्वोत्कृष्ट छात्रछात्राबारे जानकारी गराउन नसकिने बताए ।
दृष्टिविहीन सबै उत्तीर्णः
अमरसिंह नमुना उच्च माविबाट परीक्षा दिएका १० दृष्टिविहीनहरु सबै उत्तीर्ण भए । विद्यालयका अनुसार दुई जना विशिष्ट श्रेणी र बाँकी आठ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका हुन् ।
यस्तै, सिर्जना बहिरा उच्च माविबाट परीक्षामा सहभागी २९ जना विद्यार्थीमध्ये दुई जना प्रथम श्रेणीमा उत्तीर्ण भए । २२ जना द्वितीय, एक जना तृतीय श्रेणीमा उत्तीर्ण भए ।
