सकियो अर्को ओरालो

Share:

पोखरा ७ असार / पोखरामा नाटक “अर्को ओरालो”को मञ्चन सकिएको छ । तिन दिन सम्म पोखरा उद्योग वाणिज्य संघमा मञ्चन गरीएको यूथ क्रियसन थिएटरद्धारा निर्मित नाटक “अर्को ओरालो” शनिबार सकिएको हो ।

धेरै समयपछि पोखरामा मञ्चन गरिएको नाटकवाट पोखरेलीहरुले नयाँ स्वाद लिएका छन् । समलिङ्गीको कथामा बनेको नाटक हेरेपछि दर्शकहरुले नाटकले नयाँ स्वाद दिएको र समाजमा समलङ्गीहरु खुल्न नसकेको अवस्थालाई नाटकले देखाउन खोजेको टिप्पणी गरेका छन् । समलिङ्गी भाव भएका पुरुषहरुले बिहे अगाडी नै आफ्नो कुरा स्पष्ट रुपमा नराख्दा हुने घटनालाई नाटकले चित्रण गर्न खोजेको उनीहरुले बताए ।

नयाँ कथा र अभिनयलाई दर्शकले खलेर प्रसशां गरेका छन् भने आउँदो दिनमा अझ उत्कृष्ट नाटक हेर्ने बातावरण मिलाईदिन आयोजकलाई आग्रह गरेका छन् । नाटकले जस्तो प्रभाव पारेको भएपनि सुस्ताइरहेको पोखरेली नाटकलाई जगाउने प्रयास भएको नाटक हेर्न गएका पोखराका रङ्गकर्मीहरुले बताए । नाटक हेर्न पुगेका रङ्गकर्मी तथा पत्रकार विभू भूषालले भने–“नयाँ कथाबस्तु र प्रविधिले नाटकलाई थप उर्जा थपेको रहेछ । कलाकारको अभिनय तारिफयोग्य छ । काम गर्नेवाट केही गल्ति हुन्छन् । काम हुनु ठूलो कुरा हो । नयाँ काम गरौं, वातावरण बन्दै जान्छ ।”

नाटक सफल भएको आयोजकले बतायो । हामीले कुनै ठूलो काम गरेका होइनौं । मात्र नाटक देखाएका हौं । नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले भने–“हामीले नेपालमा चलेका नाटकहरु भन्दा केही भिन्न कथाबस्तु रोज्यौं, नयाँ तरिकालाई अपनायौं, नाटकले खोजेको प्रविधिसँग जुध्ने प्रयास गरौं । यसलाई पोखरेली दर्शकले मन पराएको हामीले महशुस गरेका छौं । नाटक मञ्चनवाट केही सिक्ने मौका पनि पाएका छौं नाटक सफल भएको छ ।”

एक घण्टा समय रहेको नाटक मञ्चन गर्नका लागि पनि ठूलो मेहनत र परिश्रम गर्नु परेको थिएटरका अध्यक्ष कपिल शर्माको भनाई छ । हाम्रो मेहनत र अभिनयलाई पोखरेली दर्शकले मन पराएका छन् । यसले थप उर्जा थप्ने काम गरेको छ, उनेले भने । पोखरामा लामो समय पछि नाटक मञ्चन गरी पोखरेलीलाई नाटक तर्फ आकर्षण गराउने कामको एउटा सुरुवात भएको ब्यवस्थापक सौगात संघर्षको भनाई छ ।

पोखरामा एउटा स्थायी नाट्य थिएटरको अभावको महशुस भने दर्शकहरुले गरेका छन् । नाटक हेर्न गएका अधिकांस दर्शकहरुले पोखरामा नाटकलाई ब्यवसायिक बनाउनु पर्ने र स्थायी थिएटरको निर्माण गर्नुपर्ने बताएका छन् । नाटकमा शर्मीला बस्नेत, रेम बि.क, कपिल शर्मा, उर्मीला कार्की र रोहन नेपालीले अभिनय गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: