पोखरा, ७ असार । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन पोखराले पोखरा उद्योग वाणिज्य संघको आगामी अधिवेशनमा विन्दुकुमार थापालाई समर्थन गर्ने भएको छ । एशोसिएसनको शुक्रबार पोखरामा सम्पन्न बैठकले अध्यक्षमा उम्मेदवारी दिएका थापालाई समर्थन गर्ने सर्वसम्मत निर्णय गरेको महासचिव मोहन खड्काले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । थापा एशोसिएसनका पूर्व अध्यक्ष तथा नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् । एशोसिएसनमा लामो समयसम्म आवद्ध रहेका थापाको योगदानलाई कदर गर्दै संघको अध्यक्षमा जिताउनुपर्ने व्यवसायीहरुको दायित्व भएकाले एशोसिएसनले थापालाई समर्थन गर्ने निर्णय गरेको अध्यक्ष ध्रुवबहादुर थापाले जानकारी दिए ।
