
रञ्जन अधिकारी पोखरा, २५ वैशाख / शिक्षण पेशाबाट निवृत्त भई बसेका शिक्षकहरुको साझा संगठन निवृत्त शिक्षक समुदाय कास्कीको १६ औं वार्षिक साधारणसभा पोखरामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा पुरस्कार वितरण, आजीवन सदस्यता परिचयपत्र वितरण, संशोधित विधान पारित लगायत कार्यक्रम भएको समुदायले जनाएको छ ।
यसअघि, साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका उपनिर्देशक क्षेत्रबहादुर भण्डारीले रिटायर्ड तर नट टायर्ड मान्यताका साथ सक्रिय हुनुपर्ने र यसका लागि सामाजिक संघसंस्थामा आबद्ध हुनुपर्नेमा जोड दिए । उनले निवृत्त भएपछि ज्येष्ठ नागरिक हुने भएकाले त्यसै अनुसार भूमिका निभाउनुपर्ने भन्दै भागी पुस्तालाई मार्गनिर्देशन, सिप हस्तान्तरणमा जोड दिए ।
सो अवसरमा सल्लाहकार संयोजक तथा निवर्तमान अध्यक्ष क्षेत्रबहादुर कुँवर, सल्लाहकार रामराज रेग्मी, आजीवन सदस्य रामप्रसाद भट्टराई, एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष गोपालमणि लामिछाने लगायतले बोलेका थिए ।
समुदायका अध्यक्ष तोयनाथ लामिछानको अध्यक्षतामा भएको साधारणसभामा सचिव छविलाल आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रेमनाथ पौडेलले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष जनकलाल श्रेष्ठले पेश गरेको संशोधित विधान मस्यौदा समेत पारित भएको थियो ।
सो अवसरमा समुदायले आयोजना गरेको निवन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । प्रथम हुने ईन्द्रराज्यलक्ष्मी उच्च माविकी प्रतिक्षा पोखरेल, द्वितिय हुने शान्ति उदयका सविन पौडेल, तृतीय हुने तालबाराहीकी अञ्जु मानन्धर, सान्त्वना हुने शिवशक्ति उमाविकी जेनिशा देवकोटालाई क्रमशः पाँच, तन, दुई र एक हजार प्रदान गरिएको थियो ।
यस्तै, कार्यक्रममा छविलाल आचार्य, भोजराज बराल, प्रेमनाथ पौडेल, लक्ष्मण गौतम, हरिलाल तिमिल्सिनाले कविता वाचन पनि गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव आचार्य र सहसचिव भुवनेश्वर उपाध्यायले गरेका थिए ।
