रत्यौली गीत प्रतियोगितामा बडहरबोट प्रथम

Share:

रञ्जन अधिकारी पोखरा, २५ वैशाख / पोखराको बाटुलेचौर स्थित हिमालय क्लबले छैटौं रत्यौली गीत प्रतियोगिता आयोजना गरेको छ । शनिबार विन्ध्यवासिनी उच्च मावि परिसरमा आयोजित प्रतियोगितामा बडहरबोट आमा समूह प्रथम भएको छ । क्लबले रत्यौली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा मैदान आमा समूह द्वितीय, संरक्षण आमा समूह तृतीय र जुम्लेटीमा रहेको शान्ति आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रथम हुनेले नगद १० हजार, द्वितीय हुनेले सात हजार, तृतीय हुनेले चार हजार र सान्त्वना स्थान प्राप्त गर्नेले दुई हजार तथा सहभागी ११ टीमलाई एक–एक हजार प्रदान गरिएको छ । विजयी समूहलाई कार्यक्रमकी प्रमुख अतिथि सांसद शारदा पौडेल, क्लबका मानार्थ सदस्य उदयबहादुर बस्नेत, सल्लाहकार पदमबहादुर कार्की, ताराप्रसाद तिमिल्सिना, दिलबहादुर बस्नेत, कृष्णप्रसाद अधिकारी, शालिग्राम भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको निर्णायकहरुमा चोलेन्द्र पौडेल, निशा पोखरेल र तुलसा जिसी रहेका थिए । जग्गे समेत निर्माण गरिएको थियो भने रत्यौली संस्कृति झल्काउन महिलाहरु पुरुषको भेषमा सिंगारिएर नाचेका थिए । बिहे झल्काउने गरी पञ्चे बाजामा नाचगान समेत भएको थियो ।

यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद पौडेलले प्राचिन संस्कृतिको संरक्षण विना राष्ट्रिय एकता र पहिचान स्थापित हुन नसक्ने बताईन् । रत्यौली संस्कृति हाम्रो आफ्नो परम्परा भएका कारण संस्कृति जोगाउनका लागि क्लबले गरेको प्रयासको प्रशंसा गरिन् । रत्यौलीले मनोरञ्जन मात्र प्रदान नगर्ने समाजमा भएका विकृति र विसंगतिलाई अन्त्य गर्नका निमित्त पनि भूमिका खेल्ने बताईन् ।

कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गन्धर्व सामुदायिक विकास समाजका अध्यक्ष भोजबहादुर गन्धर्व, क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ (जीवन), निर्णायक मण्डलका संयोजक चोलेन्द्र पौडेल लगायतले संस्कृति संरक्षणमा पछिल्लो पुस्ता नलागेकोमा चिन्ता जाहेर गर्दै सामाजिक संघसंस्थाले यसतर्फ ध्यान दिन सुझाव दिएका थिए । प्रतियोगितामा अर्मला, घार्मी, कुरेचौर, पुरञ्चौर र पोखराका विभिन्न वडाबाट महिला समुहको सहभागिता थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव मोहन थापा र सहसचिव बैकुण्ठ पौडेलले गरेका थिए ।

सोहि अवसरमा सांसद पौडेलले क्लबलाई ५० हजार रुपैंया क्लबका अध्यक्ष जीवन नारायण श्रेष्ठ (जीवन) लाई सहयोग हस्तान्तरण गरिन् । क्लबले विगत छ वर्षदेखि रत्यौली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: