‘कोरियामा काम कठिन, फोहोर र खतरापूर्ण’

Share:

रञ्जन अधिकारी पोखरा, २९ वैशाख / ‘कोरियाको कामलाई ‘थ्रीडी’ भनेर बुझ्नुस् । डिफिकल्ट, डेन्जर र डर्टी । अर्थात् कठिन, खतरापूर्ण र फोहोर ।’ ईपीएस नेपाल शाखाका निर्देशक डिल्लीराम बास्तोलाले यति भननासाथ ताली पिट्दै हौसिएका युवाहरु मौन बसे । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भेला भएका आठ सय बढि युवाहरु कोरिया रोजगारी सम्बन्धमा आयोजित कार्यक्रममा सहभागी थिए । १८ वर्षदेखि ३० वर्ष उमेर समुहका युवाहरुको त्यो भिड, जसले गत वैशाख १५ देखि १८ गतेसम्म दक्षिण कोरियामा रोजगारीका लागि भाषा परिक्षाका लागि आवेदन फाराम भरे । उनीहरुलाई नै लक्षित गरी वैदेशिक रोजगार विभाग, ईपिएस शाखा नेपाल र एचआरडी कोरिया नेपाल ईपिएस केन्द्रले अंकुर नेपालको सहकार्यमा पोखरामा रोजगार अनुमति प्रणाली (ईपीएस) सम्बन्धी जानकारीमुलक कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा निर्देशक बास्तोलाले अघि भने– ‘ कोरियामा जाने भनेर झण्डै लाख नै पुग्ने गरी दिनहुँ लाईन बसेर फाराम भर्नुभएको छ । महिनौं भाषा सिक्नुभएको छ तर छिमेकी दाइहरुले कमाएर ल्याएको केहि लाखबाट मात्र नलोभिनुस् । काम अत्यन्त गाह्रो छ । समयमा चल्न नसक्नेले सक्दैनन् । खतरापूर्ण छ र फोहोरी पनि छ ।’ उनले कोरियन भाषा परिक्षा उत्तिर्ण गर्दैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने भन्दै भाषा परीक्षा पास गर्नु भनेको कोरियामा रोजगारका लागी आवेदन गर्न योग्य हुनु मात्रै भएको बताए ।

भाषा परीक्षा उत्तिर्ण सबैले कोरियामा रोजगारीको अवसर प्राप्त गर्न नसक्ने, कसले रोजगार अवसर पाउने वा नपाउने भन्ने सम्बन्धमा कोरियाको अर्थतन्त्रको अवस्था र रोजगारदाताको छनौट नै निर्णायक हुने र अन्य कुनै कुराबाट प्रभावित नहुने हुँदा भाषा परीक्षा उत्तिर्ण गरी रोष्टरमा नाम रहेका सबै व्यक्तिहरुले श्रम सम्झौता प्राप्त भई भिषा प्राप्त नहुँदासम्म आफूले गरी आएको वा गनुपर्ने काम, पेशा, व्यवसाय, अध्ययन आदि नियमित राख्न पनि उनले सुझाव दिए ।

विगतमा भाषा परीक्षा पास गरेर प्रतिक्षा सूचिमा रहेका व्यक्तिहरुले आफ्नो नियमित कार्य छाडी वस्ने गरेको र अन्तसम्म कुर्दा समेत कोरियामा रोजगार अवसर प्राप्त गर्न नसकि निराश बनेको पाइर्एकोले यस्तो अवस्था नदोहोरियोस् भन्ने तर्फ समयमै विशेष चनाखो रहन जरुरी रहेको उनको भनाई थियो ।

एचआरडी कोरिया नेपाल शाखाका निर्देशक डा. किम कि उकले कोरियाको आर्थिक अवस्थाको पहिचान तथा आन्तरिक श्रमबजारको मूल्याङकन गरेर प्रत्येक वर्ष प्रवासी मजदुर लिने संख्याको निर्धारण गरिने जनाए । प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न प्रतिबद्ध रहेको भन्दै उनले रोजगार दाताको माग अनुसार कामदारको छनौट, क्षमताको अवस्था, कोरियन भाषा सम्वन्धि ज्ञानको आधारमा आवश्यक कामदारको छनौट गरिने उल्लेख गरे ।
श्रम ऐन, न्युनतम पारिश्रमिक ऐन, कम्पनी शुरक्षा ऐन आदिमा स्वदेशी कामदार सरह समान हैसियत प्रदान गरिएको भन्दै यसतर्फ युवाको आकर्षण बढेको र नेपालीले राम्रो गरिरहेको पनि उल्लेख गरे । सम्पुर्ण प्रकृया सरकारी प्रकृया भएको हुदा ईपिएस कार्यालयले तोकेको बाहेक कसैलाई रकम नदिन तथा नठगिन पनि सचेत गराए ।

कोरियाको रोजगारी धेरै युवाले सपना बनाईरहेका छन् । कठिन काम रहेको र उद्योग तर्फका कामदारलाई खतरा तथा कृषि क्षेत्रका श्रमिकले समयमा तलब नपाउने लगायतका समस्या भोगिरहेका छन् । तर पनि कोरियामा काम गर्न जान चाहने युवाको संख्या धेरै छ ।

नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली ईपीएस मार्फत प्रशिक्षार्थी कामदार छनोट गर्न आगामी असार ४ र ५ गते परीक्षा लिइदैँछ । यसबर्ष नेपालले कृषितर्फ २ हजार १ सय जना र उत्पादन तर्फ १ हजार जनाको कोटा प्राप्त गरेको रोजगार अनुमति प्रणाली ईपीएसले जनाएको छ । पोखरामा मात्रै नौ हजार आठ सयले भाषा परीक्षामा सहभागी हुन फाराम बुझाएका छन् भने देशभरको संख्या ६० हजार बढि छ ।

कमेन्ट गर्नुहोस्
Share: