रेम बिक पोखरा, १२ असार । पश्चिमाञ्चकै नम्बर एक एफएम विग एफएमले वर्षेनी गर्दै आएको ग्राण्ड ईभेन्ट ‘विग आईकन’को पछिल्लो सँस्करण असारको १७ गतेबाट शुरु हुने भएको छ । एफएमले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर पाँचौ विग आईकनको बारेमा जानकारी दिएको हो । एफएमले दिएको जानकारी अनुसार यो पटक विग आईकनका लागि ५० जिल्लाका ८ सय १० जना गायन प्रतिभाहरुले फाराम भरेका छन् ।
अघिल्ला वर्षको तुलनामा यो पटक गायन प्रतिभाहरुको सहभागिता अत्याधिक रहेको एफएमका अध्यक्ष महेश भण्डारीले बताए । ‘सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आइकनलाई उत्कृष्ट र सर्वप्रिय बनाउन हाम्रो प्रयास रहनेछ ।’ पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले भने–‘कसैलाई रातारात स्टार बनाउने भन्दापनि प्रतिभाको पहिचान गरि उनीहरुको बजारिकरणमा सहयोग पु¥याउने हाम्रो उद्देश्य हो ।’ प्रतिभा देखाउन चाहनेहरुका लागि विग आईकन देशकै उत्कृष्ट मञ्च साबित भैसकेको उनले दाबी समेत गरे ।
पत्रकार सम्मेलनमा ईन्टरनेशनल मार्केटिङ सर्भिसेजका मार्केटिङ म्यानेजर पुस्कल खतिवडाले विग आईकनसंगको सहकार्यलाई निरन्तरता दिन पाउँदा आफु निकै खुशि भएको प्रतिक्रिया दिए । ‘चौथो पटकसम्म आईपुग्दा विग आईकनसंगको सहकार्यबाट हामीले धेरै फाईदा प्राप्त गरेका छौँ ।’ उनले भने–‘हाम्रो उत्पादनको ब्राण्डिङसंगै गायन प्रतिभाहरुका लागि उत्कृष्ट मञ्च प्रदान गर्ने कार्यमा सहयोग गर्न पाउनु हाम्रो लागि पनि शौभाग्य हो ।’ आगामी दिनमा पनि विग आईकनसंगको सहकार्यले निरन्तरता पाउने उनले प्रतिबद्धता जनाए ।
यस्तै विग आईकनका अर्का सहयोगी ब्रिटिश कलेजका सिईओ नरेन्द्र कँडेलले मोफसलमा रहेर पनि देशव्यापी उत्कृष्ट रियालिटी शो गर्ने विग एफएमप्रति आभार व्यक्त गरे । व्यवसायिक सहकार्यले ब्रिटिश कलेजको प्रचारमा पनि उत्तिकै सहयोग पुगेको उल्लेख गर्दै उनले यो पटक पनि व्रिटिश कलेजले विग आईकन बन्नेका लागि विशेष प्याकेज तयार पारेको जानकारी दिए ।
विग आईकन बन्ने प्रतियोगीले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ मोटरसाईकल प्राप्त गर्नुका साथै व्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर पाउनेछन् । यस्तै सेकेन्ड हुने प्रतिभाले ७५ हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्ने एफएमले जनाएको छ । यो पटक प्रतियोगीहरुले उत्कृष्ट बन्नका लागि १९ चरणको अडिसन पार गर्नुपर्ने एफएले जनाएको छ । संगीतकर्मीहरु सामसुङ तामाङ र सुनिल थापा प्रतियोगिताका निणायक हुन् ।
चारवटा सँस्करणमध्ये पहिलो सँस्करणको विग आईकन गगन पुनले जितेका थिए । यस्तै सुमत गौतम दोस्रो विग आईकन भए भने नविन काफ्ले तेस्रो विग आईकनको विजेता बनेका थिए । चौथो सँस्करणको विग आईकनमा मुस्कान रानाभाटले उपाधी हात पारेकी थिईन् । हाल यी सबै विग आईकनका विजेता तथा उपविजेताहरु नेपाली साँगीतिक फाँटमा चर्चित छन् । गत वर्षका विग आईकन विजेता रानाभाट केहि समयमै बेलायतको साँगीतिक यात्रामा जाँदैछिन् ।
दुई महिनासम्म चल्ने ईभेन्टलाई सामसुङ ग्राण्ड निओ मोबाईलले मुख्य प्रायोजन गरेको छ । नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालिले विग आईकनसंग सहकार्य गरेको यो चौथो पटक हो । यस्तै प्रतियोगिताको कान्साई नेरोल्याक पेन्ट्सले गरेको छ भने सपोर्टेड बाईमा कंगारु एजुकेशन फाउन्डेशन रहेको छ । प्रोमोटेड बाईमा व्रिटिश कलेजले सहकार्य गरेको ईभेन्टमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी उपप्रायोजकको रुपमा रहेको छ । यस्तै सह प्रायोजकमा पोखरा नयाँबजारस्थित रबि अटोमोबाईल्सले सहकार्य गरेको छ भने बैंकिङ पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक रहेको छ । स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार रेस्टुरेन्ट पार्टनर रहेको ईभेन्टलाई होटल पार्टनरको रुपमा लेकसाईडस्थित होटल बाराहिले सहयोग गरेको छ । प्रतियोगिताको टिकट तथा टुर पार्टनर एम वे टुर्स एण्ड ट्राभल्स प्रालि रहेको छ भने बजार पार्टनरको रुपमा नाईन्टी नाईन बिग बजारले सहकार्य गरेको छ । विग आईकनको पाँचौ सँस्करणको मिडिया पार्टनरको रुपमा एभिन्यूज टेलिभिजन, अन्नपुर्ण पोस्ट, एजुकेशन संसार डटकम र कस्तो रमाईलो डटकमले सहकार्य गरेका छन् ।
