१३ असार / ब्राजिलमा जारी विश्वकप फुटबलमा अन्तिम १६ को समिकरण पुरा भएको छ । गएरातिका खेलबाट थप ४ वटा टिम प्रि क्वाटरफाइनलमा प्रवेश गरेसँगै समिकरण पुरा भएको हो । समूह जी बाट जर्मनी र अमेरिका तथा समूह एचबाट बेल्जीयम र अल्जेरिया प्रि क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम ४ टिम बने । गएराति भएको खेलमा जर्मनीले अमेरिकालाई पराजित गरे पनि दुवै टिम प्रि क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । अर्को खेलमा पोर्चुगलले घानालाई १ का बिरुद्ध २ गोलले पराजित गर ेपनि गोल अन्तरका आधारमा अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो ।
अमेरिकाविरुद्धको खेलमा जर्मनीले ६८ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न भने ५४ मिनेट कुुर्नुपरेको थियो । जर्मनीका लागि ५४ औ मिनेटमा थोमस मुलरले निर्णायक गोल गरेका थिए । जितसँगै जर्मनी सत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अर्को खेलमा पोर्चुगलले घानालाई दुई एक गोल अन्तरले पाखा लगायो । जितसँगै तालिकामा ४ अंक जोडे पनि अमेरिकासँग पछि पर्दै पोर्चुगल प्रतियोगितबाट बाहिरिएको हो ।
पोर्चुगलले पहिलो गोल उपहार पाएको थियो । घानाका जोन बोएले किलियर गर्न खोज्दा बल पोष्ट भित्र गएको थियो । उपहार दिएर पछि परेको घानाले ५६ औ मिनेटमा बराबरी गोल गरेको थियो । उसका लागि अशमोह ज्ञेनले बराबरी गोल गरे । तर ८० औ मिनेटमा क्रिष्टियानो रोनाल्डोले निर्णायक गोल गर्दै पोर्चुगललाई अन्तिम खेलमा जित दिलाए । तर ४ अंक जोडेको पोर्चुगल गोल अन्तरमा पछि पर्दै समूह चरणबाटै विदा भयो ।
समूह एच अन्र्तगत बेल्जीयम पनि समूह चरणका सवै खेल जित्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । बेल्जीयमले एशियाली देश दक्षिण कोरियालाई एक सून्य गोल अन्तरले पराजित गर्दै प्रि क्वाटरफाइनलमा स्थान सुरक्षीत गरेको हो । बेल्जीयमका लागि ७७औ मिनेटमा जन भरटोनगेनले निर्णायक गोल गरेका थिए । अर्को खेलमा अल्जेरिया र रसिया भने एक एक गोलेको बराबरीमा रोकिए । बराबरीले अल्जेरियालाई अन्तिम १६ मा पु¥याको छ ।
रसियाले पहिलो हाफको छैटौ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । उसका लागि अलेक्जेन्डर कोकोरिनले गोल गरेका हुन् । तर दोस्रो हाफको ५९ औ मिनेटमा इस्लाम शलमानीले बराबरी गोल गर्दै अंक बाँड्न बाध्य पारे । अल्जेरिया ४ अंक सहित नक आउट चरणमा प्रवेश गरेको हो । प्रि क्वाटरफाइनलका खेल भोली सुरु हुनेछन् ।
