डा. केसीद्वारा अाठाैं पटक अामरण अनसन सुरू

Share:

काठमाडौं, २६ असार-
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले आइतबार आठौंपटक अनसन सुरु गरेका छन् ।

चिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार गर्न तथा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै डा। केसीले अनसन सुरु गरेका हुन् ।

अनसनको पक्ष र विपक्षमा रहेकाहरुबीच अहिले शिक्षण अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएको छ । दुबै पक्षले एकअर्काको विरोधमा नाराबाजी गरिरहेका छन् ।

गणेशमान सिंह भवन परिसरको बालरोग ओपिडी नजिकै चर्को नाराबाजी र होहल्ला भएपछि विरामीहरु मर्कामा परेका छन् । अनसनको विरोधमा नाराबाजी गर्नेहरु अधिकांश महिलाहरु छन् ।

‘अस्पताल बचाऔं समूह’को ब्यानरमा डा. केसीको विपक्षमा रहेकाहरुको समूह पनि छ । त्यसको नेतृत्व डा। रामकुमार अधिकारीले गरेका छन् । उनले केसीका मागप्रति समर्थन रहे पनि अस्पताल परिसरमा अनसन बस्न नपाइने बताए ।

‘अस्पताल परिसरमा अनसन बस्न पाइँदैन भनेर फैसला गरेको छ । त्यसैले कानुन मान्दिन भन्न पाइँदैन,’ डा। अधिकारीले भने, ‘अस्पताल परिसरमा अनसन बसेकोमा हाम्रो आपत्ती हो ।’

उनले अस्पताल परिसरबाट अनसन बस्न नछाडेसम्म विरोध जारी रहने जानकारी दिए ।

डा। केसीले अनसन सुरु गर्नुअघि आफ्ना सहयोगी डा। जीबन क्षेत्रीलाई प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न प्रधानमन्त्री कार्यालयमा पठाएका थिए । प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि आफूले पहल गरिरहेको भन्दै अनसन नबस्न आग्रह गरेका थिए ।

अनसन सुरु गर्नुअघि पत्रकारमाझ डा। केसीले भने, ‘यस्तो भन्छन् भन्ने मलाई पहिल्यै थाहा थियो । माफियाहरुले व्यापारिक प्रयोजनका निम्ति अनसनको विरोध गरिरहेका छन् ।’

डा. केसीले चिकित्सा क्षेत्र सुधार गर्न र अख्तियार प्रमुख भ्रष्टाचारी भएको आरोप लगाउँदै बर्खास्त गर्न माग पनि गरेका छन् । सरकारी शिक्षण संस्थाहरुको आर्थिक भारले सरकारले व्यहोर्दै तिनीहरुमा सबै सिट निःशुल्क गर्ने, सबै प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज पुर्‍याउने, काठमाडौं उपत्यकामा आउँदो दस वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङमा नयाँ सम्बन्धन नदिने तथा मनसाय पत्र पाएकाहरुको नविकरण नगर्ने माग पनि केसीले राखेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: