जमुना बर्षाको ‘सशक्त आवाज’ पुस्तक विमोचन

Share:

पोखरा, २९ असार-
पत्रकार तथा सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माद्धारा लिखित ‘सशक्त आवाज’ पुस्तकको आज एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

महिला सशक्तिकरण नेपाल तथा थ्री सिस्टर्स एड्भेन्चर टे«किङ प्रा.लि. ले आयोजना गरेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जि.सी.ले विमोचन गर्नुभएको हो । पुस्तकमा विकट परिवेशमा संघर्षपूर्ण जीवनयापन गरिरहेका जो ज्ञान र सीपका माध्यमले सशक्त बनेका १० जना महिलाको आवाजलाई समावेश गरिएको छ ।

पुस्तकको विमोचन गर्दै जि.सी.ले सशक्तिकरण भनेको चुनौति भएको जनाउँदै, जबसम्म चुनौतिहरुको सामना गर्न सक्दैन तबसम्म सशक्तिकरण सम्भव नहुने बताउनुभयो । जिसीले थ्री सिस्टर्स ति चुनौतिहरुको उदाहरण भएको बताउँदै, महिला सशक्तिकरणका लागि थ्री सिस्टर्सले चालेको कदम निरन्तर अगाडी बढिरहोस् भन्ने कामना गर्नुभएको थियो । संघर्ष गरेर आएका १० महिलाको जीवनी समेटेर पुस्तक लेखेकोमा जमुना वर्षा शर्माको कार्य प्रशंसनिय भएको बताउँदै उज्वल भविष्यको कामना गर्नुभयो ।

कार्यक्रममा बोल्दै लेखिका तथा सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष शर्माले कष्टपूर्ण यात्रा गरेर आएका १० महिलाको पिडादायी अनुभव किताबमा उतार्दा आफू पनि भावुक बन्न पुगेको बताउनुभयो । उहाँले छोटो समयमा सबैको जीवनी लगभग १ हजार शब्दमा समेट्नु सम्भव नभए पनि आफूले धेरै मिहिनेत र अध्ययन गरेर सबैको जीवनीलाई पुस्तकमा उर्तान खोजेको बताउनुभयो ।

सोही अवसरमा जुलाई १६ देखि २२ तारिख सम्म अमेरिकामा हुन गइरहेको नेतृत्व विकास सम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा सहभागी १० जना महिलाहरुलाई विदाई गरिइएको थियो । उनीहरुलाई थ्री सिस्टर्स एड्भेन्चर टे«किङ प्रा.लि.का संस्थापक निर्देशक लक्की कार्की, महिला सशक्तिकरण नेपालका अध्यक्ष डिक्की काकी र सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले माला, खादा र टिका लगाएर विदाई गर्नुभएको थियो ।

महिला सशक्तिकरण नेपालका अध्यक्ष डिक्की कार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेलले पनि बोल्नुभएको थियो । पुस्तकको परिचय पत्रकार भरत कोइरालाले गराउनुभएको थियो ।

थ्री सिस्टर्स एड्भेन्चर टे«किङ प्रा.लि.का संस्थापक निर्देशक लक्की कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारिका समुह पश्चिमाञ्चलका महासचिव कविता श्रेष्ठले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: