पोखराको लामाचौरमा तीज महोत्सव एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

Share:

पोखरा, १८ भदौ-
पोखराको लामाचौरमा शुक्रबारदेखि हरितालिका तीज महोत्सव–२०७३ एवं राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको २० औं वार्षिकोत्सव पारी सुरु महोत्सव ३ दिनसम्म चल्नेछ । महोत्सवस्थल इन्द्रराज्य लक्ष्मी माविको चौरमा गाउँ गाउँबाट सर्वसाधारण महोत्सवका लागि झरेका छन् ।
महोत्सवको भव्य समारोहबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले उद्घाटन गरे । तीज अवसरमा काठमाडौको पशुपतिनाथपछि नेपालमै दोस्रो ठूलो मेला पोखराको लामाचौरमा पाएको भन्दै उनले संस्थाको सामाजिक कार्यमा देखाएको अग्रसरताको प्रशंसा गरे । उनले लामाचौर खेलकुद मैदानमा आगामी सागमा कुनै एक खेल आयोजना गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।
संस्थाका अध्यक्ष धर्ममानसिंह भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत प्रथम उपाध्यक्ष बमबहादुर गुरुङले र संचालन सचिव लक्ष्मी पाण्डेले गरकी थिइन् । कार्यक्रममा खेल मैदान संयोजक सुरेन्द्रमानसिह भण्डारीले पनि बोलेका थिए ।
महोत्सवको प्रमुख आकर्षण राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पहिलो दिन २ खेल सकिएका छन् । जसमा साविक विजेता न्यू डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बल (एपीएफ) ले जीत हात पारे ।
पहिलो खेलमा एपीएफले मध्यपश्चिमाञ्चल भलिबल संघलाई २५—९, २५—१० र २५—१२ को सोझो सेटमा पराजित गर्यो । अर्को खेलमा न्यू डायमण्डले नेपाल आर्मी क्लबमाथि सोझो सेटमा जीत हात पार्यो । खेलमा २५—११, २५—१७ र २५—१५ को स्कोर निस्केको थियो । तेस्रो खेलमा पश्चिमाञ्चल टप्स माविसँग भिडेको एपीएफले २ सेट आफ्नो पक्षमा पारे पनि तेस्रो सेट वर्षाले स्थगित भयो । उनीहरुबीच शनिबार पुनः प्रतिष्पर्धा हुने खेल संयोजक सुशीलकुमार श्रेष्ठले जनाए । समूह क मा न्यू डायमण्ड र आर्मी छन् ।
नेपाल प्रहरी क्लब अन्तिम समयमा नआएपछि प्रतियोगितामा ५ टिममात्र प्रतिष्पर्धामा उत्रिएका छन् । भलिबल हेर्न झण्डै ४ हजार दर्शक अट्ने कृत्रिम प्याराफिट तयार पारिएको खेल छ । विजेताले ७५ हजार र उपविजेताले ५० हजार रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । तेस्रोले २० हजार र सान्त्वनालाई १५ हजार दिइनेछ । विधागतरुपमा वेष्ट प्लेयर, क्वीकर, लिब्रो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र कोचलाई उपाधि दिइनेछ ।
अन्तरमावि छात्रा भलिबल प्रतियोगिता पनि सुरु भएको छ । कमहोत्सवमा २५ वटा व्यापारिक प्रयोजन तथा ६ वटा खानाका गरी ३१ वटा स्टल रहेका छन् ।
अन्तरआमा समूह लोक नृत्य, अन्तरमावि लोकनृत्य, अन्तरविद्यालय लोकनृत्य, श्रष्टा सम्मान, जिल्लास्तरीय नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते, नवआदर्श सामाजिक उद्यमी राष्ट्रिय पुरस्कारलगायतका दर्जनौ कार्यक्रम रहेको प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।
कैलास विकास बैकको मुख्य प्रायोजनमा भएको महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।
कैलास विकास बैंकको मुख्य प्रायोजनमा हुने महोत्सवमा करिब २५ लाख खर्च लाग्ने र ३० लाख संकलन गर्ने आयोजकको लक्ष्य लिएको अर्थ संयोजक बमबहादुर गुरुङले बताए ।
बानियाँ स्टोर्स लामाचौर मुख्य सहयोगी रहेको महोत्सव प्रायोजकमा रेडबुल इनर्जी ड्रिङ्क्स, एकता बुक्स डिष्ट्रिव्यूटर्स, सहप्रायोजक चौधरी ग्रुप, कोकाकोला, वृज सिमेन्ट, सुमी डिष्ट्रिलरी प्रालि, गण्डकी आयाल मिलको कोशेली तेल, जयमनकामना सहकारी संस्था, लवकुश डेरी, एशियन थाइ फुड्स, दि युनाइटेड गोल्डमार्ट, आर–टेक प्रालि लामाचौर छन् ।

कमेन्ट गर्नुहोस्
Share: