विश्वकप फुटबल फाइनल: अर्जेन्टिना Vs जर्मनी, यस्तो छ इतिहास

Share:

काठमाडौं, आषाढ २६ । विश्वकप फुटबलको अर्को एउटा संस्करणको फाईनल खेल युरोपियन र लेटिन अमेरिकी राष्ट्रविच हुने भएको छ । ब्राजिलमा जारी विश्वकप फुटबको २० औं संस्करणको फाईनलमा जर्मनी र अर्जेन्टिना पुगेपछि विश्व फुटबलमा महादेशीय टक्कर फेरी बढेको हो ।

जर्मनी र अर्जेन्टिना विश्वकप फुटबलको फाईनलमा एक आपसमा भिड्न लागेको यो तेस्रो पटक हो । यी दुई टोली यसअघि विश्वकपको फाईनलमा दुई पटक भिडिसकेका छन् । जसमध्ये एउटामा अर्जेन्टिना र अर्कोमा जर्मनी विजयी हुँदै उपाधि उचालेका थिए ।

सन् १९८६ मा मेक्सिकोमा भएको फाईनलमा जर्मनीलाई ३-२ ले हराँउदै अर्जेन्टिनाले उपाधि जितेको थियो भने यसको ४ वर्षपछि सन् १९९० मा ईटालीको रोममा भएको फाईनल खेलमा अर्जेन्टिनालाई १-० ले हराँउदै जर्मनीले उपाधि उचालेको थियो । विश्वकपका हालसम्मका १९ संस्करणमध्ये युरोपले १० उपाधि जितेको छ भने दक्षिण अमेरीकाले ९ पटक उपाधि जितेको छ ।

यसपटक आप्mनै महादेशमा उपाधि जित्दै लेटिन अमेरीका युरोपसँग बराबरी गर्न चाहन्छ भने युरोप विश्व फुटबलमा आफु सबैभन्दा शक्तिशाली भएको अझै प्रष्ट्याउन चाहन्छ । यस्तोमा आईतवार राती रियो दि जेनेरीयोमा हुने फाईनल खेललाई दुई देशको भन्दापनि दुई महादेशको भिडन्तको रुपमा हेरिनेछ ।

फाईनल खेलले विश्व फुटबलका दुई परम्परागत प्रतिद्धन्दी अर्जेन्टिना र जर्मनीविचको सदावहार दुश्मनीलाई नवीकरण गर्नेछ । ब्राजिलमा हुने फाईनल खेलमा अर्जेन्टिनालाई क्षेत्रीय समर्थन र मौसमको साथ मिल्नेछ । उता जर्मनी भने दक्षिण अमेरीकी माटोमा विश्वकप जित्ने पहिलो युरोपियन राष्ट्र बन्ने अभियानमा छ ।

आठौं पटक विश्वकपको फाईनलमा प्रवेश गरेको जर्मनी चौथो पटक उपाधि जित्ने लक्ष्यमा छ भने पाँचौ पटक फाईनलमा पुगेको अर्जेन्टिना तेस्रो उपाधिको खोजीमा छ । फाईनल खेलमा जर्मनीका थोमस मुलर र अर्जेन्टिनाका लियोनल मेस्सी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने प्रयासमा समेत हुनेछन् ।

मुलरले ५ गोल गरेका छन्भने मेस्सीको नाममा ४ गोल रहेको छ । प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका कोलम्बियाका जेम्स रोड्रिग्वेज गोल्डेन बुटमा मुख्य दावेदार हुन् ।

कमेन्ट गर्नुहोस्
Share: