
रञ्जन अधिकारी पोखरा, ७ असोज / पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा दीपक समीप चयन भएका छन् । परिवारको पोखरामा शुक्रबार भएको ३८ औं साधारणसभा तथा अधिवेशनले दुई वर्षको कार्यकालको लागि समीपको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
उपाध्यक्षमा प्रकाश ज्ञावली, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा मोती भुजेल, सहसचिवमा सन्तोष बस्याल , साहित्य संयोजक अमृत सुबेदी, संगीत संयोजक श्रीमान थुलुङ, कला संयोजक हेम कान्ति गुरुङ चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा उपेन्द्र पौडेल, भुवन क्षेत्री, डा। चैतन्य अधिकारी , रीता अधिकारी र राम कुमार श्रेष्ठलाई चयन गरेको छ । समीपले सर्वसम्मत रुपमा अध्यक्ष चुनिएपछि हर सम्भव संस्थाको गरिमा उँचो बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘म सके नयाँ कार्यक्रमहरु ल्याउँछु, नसके अग्रजहरुले गरेका कार्यक्रमलाई थप उचाइ दिने प्रयास गर्ने छु ।’
२०३४ सालमा स्थापित पोखराको एक पुरानो वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारले ‘कला, साहित्य र सङ्गीतको उत्थान : हाम्रो प्रण’ भन्ने नारासहित विभिन्न कार्यव्रmमहरु सञ्चालन गर्दै आएको छ ।
