
असोज ९ गते-
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ ।
उत्पादित विद्युत् १३२ केभीएको भुलभुले–मध्यमर्स्याङ्दी ‘सिंगल सर्किट’ को प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । भुलभुलेमा निर्माण गरिएको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको कुल क्षमता ५० मेगावाट हो । २५÷२५ मेगावाटको दुई वटा टर्बाइनमध्ये युनिट नं. १ लाई सञ्चालनमा ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।
भुलभुले–मध्यमर्स्याङ्दी २० किलोमिटर लम्बाइको प्रसारण लाइन गत साता परीक्षण गरिएको थियो । प्रसारण लाइनका आयोजना प्रमुख इन्जिनियर गणेश केसीका अनुसार ‘चार्जिङ’ सफल भएकाले लोड लिन थालिएको हो । परीक्षणमा संलग्न इन्जिनियरहरूले प्रसारण लाइन विद्युत् भार बोक्न तयार रहेको बताएपछि आयोजनाले विद्युत् उत्पादन गरेको हो ।
माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको विद्युत् उत्पादनपछि लोडसेडिङको समय घट्ने सर्वसाधारणले आशा गरेका छन् ।
