
असोज ११ गते-
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को चितवन शाखाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला गर्ने भएको छ । ईक्यान चितवनले आगामी मंसिर १७ गतेदेखि १९ गतेसम्म तीन दिन मेला गर्ने निर्णय गरेको ईक्यान चितवनका अध्यक्ष जीवन रिजालले जानकारी दिए ।
मेलाको संयोजक ईक्यान चितवनका उपाध्यक्ष भानुभक्त खरेरलाई बनाइएको छ । चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा गरिने मेलामा करिब सत्तरीवटा स्टल रहने बताइएको छ । तीन दिनसम्म चल्ने मेलामा १५ देखि २० हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलाको स्टलहरुमा चितवनमा संचालित कन्सल्टेन्सीहरुको सहभागिता रहेन छ । ईक्यान चितवनले यसअघि भदौ २४ गतेदेखि २६ गतेसम्मका लागि मिति तय गरे पनि आन्तरिक कारण देखाउँदै मेला स्थगित गरेको थियो ।
ईक्यान चितवनले गर्न लागेको यो मेला दोस्रो संस्करण हो । यसअघि गत वर्ष भदौ २५ देखि २७ गतेसम्म मेला सम्पन्न गरेको थियो ।
