
कात्तिक ८ –
मात्र ३३ रन बनाउन नसक्दा बंगलादेशले टेस्ट क्रिकेटको एउटा ऐतिहासिक अवसर गुमाएको छ । इग्ल्याण्डमाथि पहिलो जितको संघारमा रहेको बंगलादेशले घरेलु भूमिमा इतिहास रच्ने अपेक्षा धेरैले गरेका थिए । समग्रमा २ सय ८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले चौथो दिनको खेल सकिँदासम्म बंगलादेशलाई जितका लागि मात्र ३३ रन चाहिएको थियो । २ विकेट बाँकी भएको अवस्थामा क्रिजमा थिए ५९ रन बनाएका सब्बिर रहमान ।
क्रिजको अर्कोपट्टि टिकिदिने मात्र साथी भएपनि बंगलादेशले जित्ने सम्भावना बढी थियो । तर त्यस्तो भएन । पाँचौ दिनको पहिलो ओभरमा बंगलादेशले स्टुआर्ड बोर्डबाट ५ रन लिंदै टिमले जितको सुरसार गरेजस्तो देखायो । ८१ औं ओभरमा थप २ रन बनाएपछि बंगलादेशलाई चाहिएको रन २६ मा झरिसकेको थियो । तर, यो अवस्था पनि धेरैबेर रहेन । ८२ आैं ओभर बंगलादेशका लागि घातक बन्यो । कप्तान एलेस्टर कुकले बेन स्टोकलाई बल दिए । पहिलो पारीमा ४ विकेट चट्काएपनि स्टोकले दोश्रो पारीमा विकेट लिनै सकेका थिएनन् । तर, पाँचौ दिनको आफ्नो पहिलो बलमै स्टोकले तैजुल स्लामलाई एलबिडब्लु धरापमा पारे ।
बंगलादेशले रिभ्यू माग्यो, तर अहँ पार लागेन । तैजुल एलबिडब्लु धरापमा परेको अम्पायरको निर्णय सदर भयो । त्यसपछि ब्याटिङ्गमा आए सफिउल स्लाम । जसलाई स्टोकले आफ्नो तेश्रो बलमा पेबिलियन फर्काइदिए । घरेलु भूमिमा इतिहास रच्ला भनेर हौसला दिन गएका दर्शक मात्र होइन टिभीमा हेरिरहेकाहरु पनि स्तब्ध भए । चिटगाउँको क्रिकेट मैदानमा सन्नाटा छायो । ६४ रन बनाएका क्रिजको अर्कोपटि रहेका सब्बिर चुपचाप हेरिरहन बाध्य भए । चार ओभरमै खेल सकियो । बंगलादेशका क्याप्टेन मुश्फिकर रहिमले खेल जित्न नसकेपनि समग्रमा टिमको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।
