
काठमाडौं, २ मंसिर –
नेपाल प्रज्ञा-प्रतिष्ठानले नेपाली भाषाको वर्णविन्यासमा उठेका विवादका आधारमा नेपाली बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ ।
गएको कात्तिक ३० गतेको प्राज्ञिक परिषद् बैठकले निर्णय गरेको बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिए । उनले भने, ‘नेपाली भाषाको परिवर्तनका लागि प्रयास गरिएको भए पनि त्यो विवादास्पद बनेको हुँदा सबैले स्वीकार्ने गरी व्याकरण बनाइन्छ ।’
नेपाली भाषा बचाउ आन्दोलन लगायतले मानक नेपाली भाषाको मौलिकतामा प्रहार गर्न नहुने भन्दै आवाज उठाएपछि प्रतिष्ठानले यसबारे पुनरवलोकन गर्न भाषाविद् प्रा डा चूडामणि बन्धुको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।
प्रतिष्ठानले सरोकार भएका पक्षसँगको समन्वय तथा छलफलबाट समयसापेक्ष नेपाली भाषाको वर्णविन्यास परिवर्तनका लागि प्रयत्न गरेपछि सोसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।
