पोखरा र लेखनाथका दुईवटा डेन्टल क्लिनिक विना दर्ता नै सञ्चालन

Share:

पोखरा, ७ मंसिर-
पोखराको पृथ्वीचोक र लेखनाथमा २ डेन्टल क्लिनिक बिनादर्ता संचालन भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनपछि केही निजी स्वास्थ्य संस्था अनुगमन क्रममा यस्तो भेटिएको हो ।

दुवै क्लिनिकका संचालक र कागजपत्र फेला पार्न नसकेपछि कागजातसहित उपस्थित हुन निर्देशन दिइएको अनुगमनमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य अधिकृत बोधराज सुवेदीले बताए ।

जनस्वास्थ्यको अगुवाईमा प्रशासन र प्रहरीको संयुक्त टोलीको अनुगमनमा केही औषधी पसलमा म्याद गुज्रेका औषधी समेत भेटिएका थिए । औषधी पसलले क्लिनिक संचालन गरे पनि दर्ता नगर्ने, सेवा र मूल्यसूची नराखेको, राखेपनि नदेखिने ठाउँमा राखेको, विपन्नलाई सिफारिसका आधारमा दिइने निशुल्क सेवा प्रभावकारी नभएकोलगायत समस्या रहेको अनुगमन टोलीले जनाएको छ ।

अस्पतालमा चिकित्सकको शुल्क कसैले पनि नराखेको, एउटाको नाममा एक ठाउँमा फार्मेसीको स्वीकृति लिएर अर्को व्यक्तिले चलाएको, तालिम प्राप्त व्यक्ति नबस्ने, लागुऔषधजन्य औषधी बिक्रीको रेकर्ड दुरुस्त नराख्ने गरेको पनि पाइएको सुवेदीले बताए ।

एउटा प्रतिवेदन बनाएर केन्द्रमा पठाईने उनले बताए । वरिष्ठ जनस्वास्थ्य प्रशासक दिनेशकुमार चापागाईले जिल्ला तहबाट नियमित अनुगमन गरिने जनाए । टोलीले पोखरा र लेखनाथका अस्पताल, क्लिनिक, औषधी पसल र प्रयोगशालालगायत २८ संस्थाको अनुगमन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: