पुबुदुको करार अबधि एक वर्ष थपियो

Share:

काठमाडौं, २ साउन । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच पुबुदु दासानायकेको करार अवधि १ वर्ष थपेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पुबुदुको करार अवधि थप गर्ने निर्णय गरेको हो । नेपाल क्रिकेट संघ क्यानले पारश्रिमक दिन नसक्ने भन्दै पुबुदुको करार नथपेपछि सरकारले एक वर्षका लागि आफैं तलब दिएर भएपनि राख्ने बताएको थियो । सो को औपचारिक निर्णय भने आज भएको हो ।

श्रीलंकन मुलका क्यानेडियन नागरिक पुबुदुले नेपाली टीम सम्हाले यता नेपालले अहिलेसम्मकै ठूलो सफलता हात पारिसकेको छ । नेपाललाई विश्वकपमा पुर्याउने उद्घोषसहित नेपाली टीम सम्हालेका उनले नेपाललाई ट्वान्टी-ट्वान्टी विश्वकपमा सहभागी गराए भने टीमलाई डिभिजन टु सम्मको यात्रा तय गराए । उनकै कार्यकालमा नेपालले टी-ट्वान्टीको अन्तराष्ट्रिय मान्यता समेत पाइसकेको छ ।

क्यनले उनको कार्यकाल नथप्ने बताएपछि नेपाली टीमका कप्तान पारस खड्काले आफूले पनि क्रिकेट छोड्ने चेतावनी दिएका थिए । त्यसको लगत्तै अर्थमन्त्री डा. रामशरण महतले उनलाई नेपालमै राख्ने आश्वासन दिएका थिए । पुबुदु हाल क्यानडामा छन् ।
यसैगरी बैठकले सेवा अवधि सकिन लागेका पाँच सचिवले दिएको राजीनामास्वीकृत गरेको छ । साउन सात गतेदेखि लागू हुनेगरी राजीनामा दिएका सचिवहरु प्रतापकुमार पाठक, नाथुराम चौधरी, कृष्णहरी बास्कोटा, सुशील घिमिरे र गणेशराज जोशीको राजीनामा बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: