
मंसिर १४ गते-
अष्ट्रेलियाका विभिन्न कार्यक्रममा सहभागि हुन त्यहाँ पुगेको कन्दरा ब्याण्डले सिड्नीमा आयोजित नेपाल फेस्टिवलमा आफ्नो प्रस्तुती दिएको छ । आफूलाई पहिलोपटक अष्ट्रेलियामा प्रस्तुत गरेको कन्दरालाई सिड्नीको डार्लिङ्ग हावरमा निकै उत्साहका साथ हजारौं दर्शकहरुले साथ दिएका थिए ।
करिब एक दशकपछि प्रस्तुती उल्ट्याउँदा पनि अष्ट्रेलियामा कन्दरा क्रेज नघटेको दर्शकहरुको उत्साहबाटै प्रष्ट हुन्थ्यो ।
एनआरएनले दुईवर्षपछि सिड्नीमा आयोजना गरेको नेपाल महोत्सवमा सांगीतिक प्रस्तुती दिन आएका कन्दराले आफ्ना नयाँ पुराना १ दर्जन गीत सुनाउँदा दर्शकहरुले ताली बजाएर र नाचेर साथ दिए ।
सोही कार्यक्रममा सहभागि हुन आएका अन्जु पन्त, सुगम पोखरेल, मञ्जु पौडेल लगायतको प्रस्तुतीले समेत दर्शकहरुको मन जितेको थियो ।
सांगीतिक प्रस्तुतीपछि उत्साहित बनेका कन्दरा, अन्जु र सुगमले नेपाली गीतसंगीत र कलाकारलाई यसरी नै माया गर्न आग्रह गरेका थिए । हजारौंको संख्यामा उपस्थित सहभागीहरुले रातको १० बजेसम्म खुला मैदानमै बसेर कलाकारहरुलाई सुनेका थिए ।
अष्ट्रेलियाको प्रस्तुती कन्दराको लागि अविष्मरणीय रहेको बताउँदै गायक विवेक श्रेष्ठले कन्दरा ब्याण्डले अब नेपाली दर्शक स्रोताहरुको चाहना अनुसार संगीतमै लागिपर्ने बताए ।
एनआरएनले नेपालको पर्यटन प्रबद्र्धन गर्न भन्दै प्रत्येक दुई वर्षमा अष्ट्रेलियाका विभिन्न शहरहरुमा महोत्सवको आयोजना गर्ने गरेको हो । महोत्सवलाई सांगीतिक बनाउनका लागि नेपालबाट कलाकार बोलाइएको महोत्सव आयोजक समितिका संयोजक दिनेश पोखरेलले जानकारी दिए ।
महोत्सवमा ४० हजार बढी नेपाली तथा विदेशीहरुको सहभागिता रहेको जानकारी दिदै उनले नेपाली कलाकारहरुको उपस्थितीले अलग रौनक थपिदिएको बताए ।
