
पोखरा, २७ मंसिर-
तमु जातिको महान पर्व तथा नयाँ वर्ष च्ह्य ल्होछारको अवसरमा तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ ।
तमु धिं नेपालले पुस १० गतेदेखि १५ गते सम्म विविध कार्यक्रम गर्ने र १६ गते सामुहिक ल्होछार/ल्होसार कार्यक्रमलाई भव्य बनाउन जुट्ने भएको छ ।
तमु धिं नेपालको आइतवार सम्पन्न बैठकले पुस १० गते आमा समितिको आयोजनामा शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम र स्वास्थ्य शिविर सञ्चालन गर्ने, पुस ११ गते बिहान तमु धिं परिसर र तमु ह्युलाचोक सरसफाई, दिउसो तमु धिं नेपाल च्ह्य ल्होछार दोश्रो अन्तर तमु समाज भलिबल प्रतियोगिता उद्घाटन, पुस १२ गते भलिबल प्रतियोगिता, पुस १३ गते भलिबल प्रतियोगिता फाइनल, तमु विद्यार्थी समितिको चौथो सम्मेलन, सुनिल छात्रवृत्ति वितरण र साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
यसरी नै पुस १४ गते बिहान तमु समाज युकेद्धारा प्रायोजित ल्होछार सडक दौड प्रतियोगिता, स्योकै, शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम र बेलुका तमु ह्युला चोकमा दिप प्रज्वलन गरिने भएको छ भने पुस १५ गते सम्पुर्ण क्षेत्रीय तमु समाजहरुमा ल्होछार कार्यक्रमहरु गर्ने र सामुहिक ल्होछार/ल्होसारको अन्तिम तयारीमा जुट्ने निर्णय तमु धिं नेपालले गरेको छ ।
यसै गरी पुस १६ गते कस्केली तमुहरुले सामुहिक रुपमा मनाउने च्ह्य ल्होछार/ल्होसारमा सम्पुर्ण क्षेत्रीय तमु समाजहरु मौलिक झाँकीसहित ल्होछार र्यालीमा सहभागी भई पोखरा प्रर्दशनी केन्द्र बृहत उपस्थिती हुने भएको छ भने तमु धिंमा आयोजना गरिदै आएको तमुहरुको साँस्कृतिक छेलो प्रतियोगिता प्रदर्शनी केन्द्रमा गर्ने कार्यक्रम तय भएको तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो ।
ल्होछार तयारी बैठक तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
