सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लन टेनिस पोखरामा सुरु

Share:

पोखरा, ९ पुस-
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये लन टेनिस खेल पोखरामा आजदेखि सुरु भएको छ ।

व्यवस्थापिका संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले सो प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै पोखरामा हुने दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि भौतिक संरचना विकासमा जोड दिइनुपर्ने बताए ।

पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि उनले बताए ।

प्रतियोगितामा विभागीय समूह नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा पाँच विकास क्षेत्रका पाँच समूह गरी आठ समूहको सहभागिता रहेको लन टेनिस सङ्घका केन्द्रीय अध्यक्ष ज्योति राणाले जानकारी दिए ।

प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६४ जना खेलाडी १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता पुस १३ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: