जनकपुरधाम, साउन ७ / द्वन्द्वकालमा राज्य पक्षले वेपत्ता गरि हत्या गरेका पाँच जनाको अवशेष (कंकाल)को ११ वर्षपछि जनकपुरमा हिन्दु परम्परा अनुसार सामुहिक अन्त्येष्टी गरिएको छ । २०६० साल असोज २१ गते धनुषा प्रहरीले तत्कालिन विद्रोही माओवादीलाई सहयोग गरेको आरोपमा जनकपुरका पाँच जना यूवाको हत्या गरी शव गाडेको थियो । वि.स. २०६७ मा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय विधि विधान प्रयोगशाला अन्तराष्टिय संस्थाहरुको सहयोगमा घट्नाका प्रत्यक्षदर्शीहरुको वयानको आधारमा चिहान उत्खनन गरिएको थियो ।
जनकपुर देवी चोकका सञ्जिव कर्ण, दुर्गेश लाल, जितेन्द्र झा, प्रमोद मण्डल र शैलेन्द्र यादवलाई पक्राउ गरि धनुषाकै तल्लो गोदार ३ स्थित कमला नदि किनारमा गोली प्रहार गरि तथा एक जनाको घाँटी रेटी निर्मतापूर्वक हत्या गरेको थियो । अनुसन्धानको लागि उत्खनन गरिएको मानव अवशेषको डिएनए परीक्षणबाट शव वेपत्ता भएका पाँच युवककै रहेको पुष्टि भएको थियो ।
आफन्तहरुको पीडासँगै आक्रोश:
११ वर्ष अघि वेपत्ता भएका आफन्तको अवशेष बुझन जम्मा भएका पाँच जना युवकका आफन्त र परिवारजनको निक्कै शोकाकुल थिए । आफन्तहरु अवशेष बुझ्ने स्थलमा भेला भई भक्कानिदै आँसुको धारा बगाउँदै थिए । द्वन्द्वकालमा भएको यो हत्यामा संलग्न दोषीहरुलाई नै माओवादी सरकारले पुरस्कृत गर्दै बढुवा गरेको भन्दै आफन्तहरुले पार्टीले घोर अन्याय गरेको बताएका छन् । मृतक सञ्जिवकुमार कर्णका भाई राजिव कर्णले हत्यामा दोषी देखिएका कुबेर सिंह रानालाई आफ्नै पार्टीका प्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरी महानिरीक्षकमा बढुवा गरेर शहीद परिवार र माओवादी जनयुद्धको बेइज्जत गरेको भन्दै पार्टीप्रति आक्रोश ब्यक्त गर्नुभयो । ‘प्रचण्ड जनकपुर आएको समयमा पाँचै परिवारका सदस्यहरुले भेट गरी रानालाई बढुवा गर्नुको साटो कारबाहीका लागि सहयोग गरिदिन आग्रह गरेका थियौं’ उहाँले भन्नुभयो ‘साता नबित्दै महानिरीक्षकमा बढुवा गरियो, शहीद र जनयुद्धको सम्मान हो या अपमान ।’ त्यस्तै मृतक दुर्गेस लालकी दिदी नविता कर्णले दोषीहरुलाई कारबाही नभएसम्म आफूहरुको पीडा कम नहुने बताउनुभयो । उहाँले घट्नाको ११ वर्ष वितिसक्दा पनि घाउँ उस्तै रहेको बताउनुभयो । क्षतिपूर्ति पाउनु पर्ने, भाईलाई सहिद घोषणा हुनु पर्ने र दोषीहरुको पहिचान भईसकेकाले चाँडोभन्दा चाँडो कारबाही नभएसम्म मृतकका आफन्तले शान्ति नपाउने उहाँको भनाई छ ।
हत्या मानवता विरुद्धको जघन्य अपराध:
२०६७ साल असोज २१ गते जर्मनीबाट बोलाईएका विषेशज्ञ र शिक्षण अस्पतालका विशेषज्ञहरुको टोलीले गाडिएका शव उत्खनन गरि त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । आयोगको पहलमा भएको अनुसन्धानबाट वेपत्ता पारिएका पाँचै जनालाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिई गोली प्रहार गरेर हत्या भएको स्पष्ट भएको आयोगले जनाएको छ । जनकपुरमा भएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रतिवेदनमा शव उत्खन्न गरिएका स्थानमा गोली र गोलीका खोकाहरु भेटिनुले मारिएका व्यक्तिहरुको हत्या गाडिएकै स्थानमा गरिएको पुष्टि भएको उल्लेख छ । चार वटा मानव अवशेष टाउको सहित फेला परेको अवशेषमा आँखामा पट्टी बाँधिएको अवस्थामा पाईएकोले मनसायपूर्वक नै हत्या गरिएको स्पष्ट हुन आएकोले यो घटनामा मानव अधिकारको गम्भीर उल्लंघन रहेको पुष्टी भएको प्रतिवेदनमा जनाइएको छ । यो घट्ना मानव अधिकार सम्बन्धी अन्तराष्टिय कानुन बमोजिम मानवता विरुद्धको जघन्य अपराध अन्तर्गत पर्ने आयोगका सचिव देवप्रसाद भट्टराई प्रतिवेदन पढ्दै जानकारी दिनुभयो ।
को को हुन हत्याका आरोपी ?
उनीहरुको हत्यामा जनकपुर अञ्चलका तत्कालिन एसएसपी चुडाबहादुर श्रेष्ठ, धनुषाका तत्कालिन प्रहरी उपरीक्षक कुवेर सिंह राणा, नेपाली सेना नौ नम्बर बाहिनी फिल्ड धनुषा धारापानीका मेजर अनुप अधिकारी र तत्कालिन प्रमुख जिल्ला अधिकारी रेवतीरमण काफ्ले संलग्न भएको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । उनीहरुमाथि आवश्यक छानविन गरी कारबाही गर्न आयोगले सरकारलाई यसअघि नै सिफारिस गरेको छ । आयोगले घटनाको सत्य तथ्य छानविन भई दोषीहरु पनि प्रमाणित गरिसकेकोले दोषीहरुलाई अभिलम्ब फौजदारी अभियोगमा कारबाहीको लागि सिफारिस गरेकोसचिव भट्टराईले जानकारी दिनुभयो ।
श्रदाञ्जली सभामा माओवादी:
मानव अधिकार आयोगले परिवरलाई बुझाएको मानव अवशेषहरुमाथि जनकपुरको देवी चोकमा परिवारजन तथा स्थानीयबासिन्दाले फुलमाला तथा श्रद्धाञ्जलि अर्पण गरेका थिए । त्यस्तै एकीकृत नेकपमा माओवादी, नेकपा– माओवादी र मातृका यादवका नेकपा माओवादीले जनकपुरको असमसान घाटमा संयुक्त रुपमा श्रद्धाञ्जलि सभा गरेका छन् ।
श्रद्धाञ्जलि सभामा एकीकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महरा, नेकपा–माओवादीका नेता देव गुरुङ र नेकपा माओवादीका अध्यक्ष मातृका यादव तथा अन्य माओवादी कार्याकर्ताहरुले पार्टीको झण्डा र फुलमाला चढाउदै श्रद्धाञ्जलि अर्पण गरेका छन् । त्यसपछि मानव अवशेषहरुको हिन्दु परम्परा अनुसार दाहसंकार गरिएको हो ।
Source: शैलेन्द्र महतो/उज्यालो ।
