
पोखरा, १८ पुस-
लेखनाथ नगरपालिका–१६ भरतपोखरीस्थित तिक्लाङमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषअन्तर्गतको रु १० लाखको सहयोगबाट लगभग रु ३० लाखबराबरको खानेपानी आयोजना सम्पन्न भएको छ ।
व्यवस्थापिका–संसद् विकास समितिका सभापति एवम् कास्की निर्वाचन क्षेत्र– न. ३ का सांसद रवीन्द्र अधिकारीमार्पm निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको आर्थिक वर्ष २०७२/७३ को रु १० लाख सहयोग भए पनि स्थानीय जागरुकताका कारण जनश्रमदान समेतका आधारमा आयोजना सफल बनेको हो ।
तिक्लाङस्थित मोहन खोलामा २०/२० हजार लिटर क्षमताका दुईवटा पानी ट्याङ्की निर्माण गरी लगभग २०० मिटरको दुरीबाट ल्याइएको सो खानेपानी योजनाबाट १२० घरपरिवारलाई सुविधा पुगेको छ ।
‘एक घर एक धारा’ अभियानका रुपमा सात महिनाअघि निर्माण सुरु गरिएको सो खानेपानी योजना स्थानीय वासिन्दाको अथक प्रयासबाट सम्पन्न गरिएको खानेपानी उपभोक्ता समितिका संयोजक गोपबहादुर बाँनियाले जानकारी दिए ।
