‘नेपाललाइ भुटानीकरण हुनबाट रोक्नुपर्छ ’

Share:

पोखरा, ९ साउन । भारतले नेपालको जलसम्पदा र उर्जामाथी कब्जा जमाएर भुटान जस्तै बनाउने षडयन्त्र सहित सन्धीको प्रस्ताव आएको भन्दै नागरिक तहबाट बिरोध गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन् । प्रस्तावित नेपाल–भारत उर्जा सम्झौता र नेपालको सार्वभौम अधिकार बिषयक शुक्रबार पोखरामा भएको परिचर्चामा बोल्ने बक्ताले सम्झौता गर्न नहुने बताएका हुन् ।

भारत सरकारले जल तथा उर्जा ब्यापार सम्बन्धि सन्धी सम्झौता भएमा नेपाललाइ भुटान जस्तै बनाउने भएकाले यसलाइ सम्झौता हुन नदिन सबै नागरिकले सरकारलाइ दबाव दिनुपर्नेमा जोड दिएका हुन् । नागरिक समाज पोखरा र स्वतन्त्र पत्रकार संघ, नेपालले संयुक्त रुपमा गरेको परिचर्चा कार्यक्रमका सहभागिले उर्जाको नाममा भारतले नेपालको जलसम्पदामाथी कब्जा जमाउन खोजेको बताए ।

‘भारतले भुटानको सार्वभौममाथी सन्धी गरेको होईन जलसम्पदामा गरेको हो । अधिबक्ता तिलक पराजुलीले भने, ‘तर अहिले भुटानको सार्वभौम छैन, भारतले निल्यो, नेपाललाई पनि त्यस्तै गर्ने षडयन्त्र हो । कार्यक्रममा बिषय राख्दै उनले नेपालको जलसम्पदामाथीको सार्वभौम सत्ता कुण्ठित पार्ने योजना सहित अहिलेको प्रस्ताव आएको ठोकुवा गरे ।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुदा २०५३ सालमा भारतसंग उर्जा तथा ब्यापार सम्बन्धि सम्झौता भएको अवस्थामा अब अर्को उस्तै प्रकारको आवश्यकता नपर्ने पराजुलीले बताए । भारतले नेपाल सरकारलाइ पठाएको उर्जा ब्यापार सम्बन्धि सन्धीको प्रस्तावलाइ लिएर देशभित्र ब्यापक बिरोध हुदै आएको छ । प्रस्तावमा नेपालको उर्जा विकासको लागि भारतले मात्र लगानी गर्ने तथा विक्रि गर्ने जस्ता गलत बुंदालाई लिएर भारतको आलोचना भएको छ । यो बिषयमा सरकारले अहिलेसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन् । तर, खुबै चर्चा पाएको यो बिषयमा पोखरामा पनि परिचर्चा भएको हो ।

नेपाली राष्ट्रियता बिषयमा पटक–पटक कुरा आउँछ, अहिलेका प्रस्ताबबारे जानकारी होस भनेर कार्यक्रम गरिएको हो । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले भने, ‘हामीले विदेशिसंग सहयोग माग्नुपर्ने अवस्था छ तर स्वाभिमान घटाएर अनि राष्ट्रहितभन्दा बाहिर गएर होइन । उनले नेपालको जल र उर्जा नेपालकै हितमा प्रयोग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने राजनीतिक पार्टीका प्रतिनिधि तथा अन्यले प्रस्ताव सम्झौता हुन नदिन नागरिक तहबाट दबावका कार्यक्रम हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस पोखरा नगरका सभापति बिष्णुहरी बराल, नेकपा (एमाले)का नगर संयोजक तेजनारायण अधिकारी र नेकपा–माओवादी कास्कीका सह–सेक्रेटरी कृष्ण वाग्ले (रुपेश)ले सरकारमा बसेका पार्टी बढि जिम्मेवार भएर राष्ट्र हित हेर्नुपर्ने बताए ।

कार्यक्रममा अधिकारकर्मीहरु खगराज आचार्य, तिलक आचार्य, उदयबहादुर अमात्य तथा पत्रकारद्धय महेशकुमार खाती र राजेश पराजुलीले पनि कार्यक्रममा आफ्ना भनाइ राखेका थिए । स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत पौडेलले र सञ्चालन सञ्चारकर्मी दुर्गा अधिकारीले गरेकी थिइन । दुवै संस्थाले समाज तथा राष्ट्र हित सम्बन्धमा छलफल तथा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: