पोखराको फोहोर व्यवस्थापनमै समस्या, घरमै बर्गिकरण गरे सहज

Share:

रञ्जन अधिकारी, पोखरा ११ साउन / पर्यटकीय नगरी पोखरा मुलुककै सबैभन्दा सफा शहर घोषणा पनि भयो । अहिले भने पोखराले आफ्नो स्थान गुमाएको छ । पोखराबारे चिन्ता गर्नेहरु सार्वजनिक कार्यक्रममा भन्दै आएका छन् ‘पोखरालाई सधैं सुन्दर नगरी शफा शहर मात्रै नभनौं, २० वर्ष अघिको पोखरासँग तुलना गरौं ।’ उर्बरभूमिहरु पछिल्लो समयमा प्लटिङमा परिणत भईसके । पोखरालाई चिनाउने फेवाताल नै आधा क्षेत्रफल पुरिसकेको अवस्था छ । पोखरा फोहोर बन्दै तथ्यलाई हामी नकार्न सक्दैनौं ।

पोखराको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको पोखरा उपमहानगरपालिका कार्यालयले गाडीको अपर्याप्तता, जनशक्तिको अभावले नियमित रुपमा टोलका फोहोर संकलन गर्न नसकिरहेको अवस्था छ । हप्तामा एक पटक फोहोरको गाडी टोल–टोल पुग्ने गरेको छ । नगरबासीको एउटै गुनासो छ ‘फोहोर उठाउने गाडी नै नियमित आउँदैन ।’ कार्यालयका फोहोरमैला व्यवस्थापन शाखा प्रमुख चुडामणि तिवारी भने स्रोत र साधनले भ्याएसम्म पोखराका फोहोर उठाउन आफूहरुले कुनै कसर बाँकी नराखेको जिकिर गर्छन् । ‘गुनासो त जे गरेपनि भयो । पहिले भन्दा हामीले फोहोर व्यवस्थापनमा ध्यान दिएका छौं ।’ तिवारी भन्छन् ‘सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप दुई संस्थासँग मिलेर फोहोर संकलन गर्दै आएका छौं ।’

२०६६ सालमा नेपाल सरकारले सार्वजनिक निजी साझेदारी अवधारणा अघि सारेपछि सोहि अनुरुप उपमहानगर कार्यालयले केहि वडामा पोखरा फोहोरमैला व्यवस्थापन प्रा.लि र वातावरणीय सुन्दर नेपाल प्रा.लि.सँग मिलेर फोहोरको व्यवस्थापन गर्दै आएको छ । २०६६ मै पोखराको वडा नंं ६ बैदामका फोहोरलाई नमुनाका रुपमा परीक्षण पश्चात पोखरा फोहोरमैला व्यवस्थापन प्रालिसँग हालसम्म सहकार्य गर्दै आएको छ । पोखरा ६ सहित वडा नंं. ७ र १७ को फोहोर उठाउने जिम्मा पनि सो संस्थाले गतवर्षदेखि पाएको छ । यस्तै, २०७० असोजदेखि वातावरणीय सुन्दर नेपाल प्रालिसँग पोखरा वडा नंं ३, ४, ८ र ९ का फोहोर उठाउने सम्झौता भएको छ । सम्झौता तीन वर्षका लागि भएपनि पहिलो वर्ष परीक्षणकै रुपमा रहने शाखा प्रमुख तिवारी बताउँछन् ।

पोखरा उपमहानगरपालिकाले १५ वर्ष अघि एशियाली विकास बैंकसँग ९ करोड ऋण सहयोगमा पोखरा १८ बाच्छीबुडुवामा ल्याण्डफिल साईड निर्माण गरी पोखराका फोहोरहरु व्यवस्थापन गर्दै आएको छ । ल्याण्डफिल साईडमा बन्द गाडी बाहेक अन्य सवारी प्रवेश गर्न नपाईने नियमका कारण फोहोर पठाउन नगरपालिकाले साझेदार दुई संस्थालाई दुई–दुई बन्द गाडी उपलब्ध गराएको छ । सात वडामा साझेदार संस्थाहरुले फोहोर संकलन गरेपनि १८ वडा मध्ये अन्य ११ वटा वडाहरुमा भने उपमहानगर कार्यालय आफैंले सात गाडीबाट फोहोर संकलन गर्दै आएको छ । त्यसैले, पर्याप्त गाडी नहुँदा नियमित फोहोर उठन् नसकिरहेको स्थानीयबासी बताउँछन् । २०६१ माघ १८ अघिसम्म ट्याक्टरबाट फोहोर संकलन गरेकोमा त्यसपछि विकसित ल्याण्डफिल साईड सञ्चालनसँगै आधुनिक गाडीहरु भित्राएको तिवारी बताउँछन् ।

वातावरणीय सुन्दर नेपाल प्रालिकी अध्यक्ष कृष्णमाया कार्की पोखराको फोहोर बर्गिकरणमै समस्या भएको बताउँछिन् । ‘बुटवलबाट पोखरा जे सोचेर आयौं, त्यो भएन । कुहिने र नकुहिने छ्ट्याएर फोहोर बर्गिकरण गर्नुपर्ने हुन्छ । हामीलाई जग्गाकै अभाव भयो ।’ कार्कीको गुनासो छ ‘चाउथेमा प्राईभेट जग्गा भाडामा लिएर काम गर्नुपरेको अवस्था छ । बढ्दो भाडा, पानीको निकास, पब्लिकको गुनासोले फोहोर बर्गिकरणमा समस्या छ । सरकारी निकायले जग्गा उपलब्ध गराए सहज हुने थियो ।’

बुटवलमा समेत तीन वर्ष अघिदेखि फोहोर व्यवस्थापन गर्दै आएको सो संस्थाले पोखरामा भने गत असोजदेखि काम थालेको हो । ‘सम्झौता लामो अवधिका लागि हुने हो भने लगानी पनि गर्न सकिन्छ ।’ नगरपालिकाका दुई सहित छ गाडीबाट चार वडाका फोहोर संकलन गर्दै आएको जानकारी दिँदै उनले थपिन् – ‘कम समयका लागि ठूलो लगानी पनि गर्न सकिन्न । महंगा अत्याधुनिक गाडीहरु खरीद गर्ने कुरा पनि भएन ।’

उनले हप्तामा एक पटक हरेक टोलमा गाडी पुग्ने गरी तालिका बनाएको बताईन् । पोखराबासीहरु फोहोर समेत सडकमै फाल्ने गरेकाले सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड दिँदै उनले मन्दिर, चौतारी, सरकारी कार्यालयकै अगाडि फोहोर फाल्ने गरेकोमा चिन्ता व्यक्त गरिन् ।

पोखरा फोहोरमैला व्यवस्थापन प्रा.लिसँग उपमहानगरपालिकाले यस आर्थिक वर्षका लागि सम्झौता नविकरण भने गरिसकेको छैन । विगतका वर्षहरुमा पनि ढिलो हुने गरेको तर फोहोर संकलन कार्य नरोकिएको संस्थाका कार्यकारी निर्देशक सन्तोष पौडेल बताउँछन् । नगरपालिकाको नियमानुसार नै सेवाग्राहीसँग सरसफाई शुल्क उठाईने, बिल भर्पाइ समेत नगरपालिकाकै प्रयोग गर्ने र उठेका शुल्कहरु नगरपालिकामा दाखिला गरी काम प्रदर्शनका आधारमा निश्चित प्रतिशतका आधारमा नगरपालिकाले साझेदार संस्थालाई रकम प्रदान गर्दै आएको छ । नगरपालिकाबाट ८० प्रतिशत बुझ्ने गरेको पौडेलले बताए । नगरपालिकाका दुई गाडी सहित ६ गाडीबाट तीन वडाका फोहोर संकलन गर्दै आएको सो संस्थाले पृथ्वीचोकमा फोहोर बर्गिकरण गरी ल्याण्डफिल साईडमा व्यवस्थापन गर्ने गरेको छ ।

न्युनतम सातदेखि पाँच हजार रुपैंयाँसम्म सरसफाई शुल्क उठाउने गरेकोमा शुल्क निर्धारण नै अव्यवहारिक भएको पौडेलको ठम्याई छ । ‘कुन टोलमा कति पटक फोहोर उठाउन गाडी जानुपर्छ ? यसरी फ्रिक्वेन्सीको आधारमा नभए त्यहाँका घरमा कति फोहोर संकलन भएको छ ? भोल्युमका आधारमा शुल्क निर्धारण हुनुपर्छ ।’ पौडेलले भने– ‘घरमै फोहोर बर्गिकरण भए नकुहिने फोहोरमात्रै संकलन गर्दा एक त कम फोहोर उत्पादन, अर्को फोहोर रिसाईक्लिङ गरी फोहोरको उपयोगिता रहनेछ ।’ घरको क्षेत्रफल, तलाका आधारमा तथा होटलमा टेबल तथा रुम संख्याका आधारमा फोहोर शुल्क निर्धारण हुने गरेको जानकारी दिँदै उनले होटल बाराही जस्ता बायोग्याँस प्लाण्ट जडित होटलहरुलाई पाँचहजार शुल्क लिनु र सुकुम्बासी टोलहरुमा प्रतिघर सात रुपैंया लिएर पाँच रुपैंयाका कार्ड दिनुपर्ने बाध्यता रहेकाले यो प्रणाली नै अव्यवहारिक भएको पौडेलको ठम्याई छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार घरमै कुहिने र नकुहिने फोहोर बर्गिकरण गरेर संकलन गर्न सके यसको व्यवस्थापनमा सहजता आउने सम्बन्धित निकायको भनाई छ ।

पोखरेलीहरु आफ्नो घरमात्रै सफा होईन सबैले घर अगाडि समेत सफा राखे सडकमा फोहोर थुप्रिन पाउँदैनन् । फोहोर व्यवस्थापनका लागि नगरपालिकाको गाडीमात्रै कुरेर बस्ने होईन फोहोरको प्रकृति हेरेर बर्गिकरण गर्न सके एक त घरमै कम्पोष्ट मल उत्पादन हुन्छ अर्को, फोहोर व्यवस्थापनमा सजिलो हुने कुरा बुझन् जरुरी छ ।

कमेन्ट गर्नुहोस्
Share: