
नवराज ढुङ्गाना/पोखरा, २७ माघ-
कास्कीको चापाकोट गाविस वडा नम्बर ७ स्थित स्थानीय समाजसेवी तथा पूर्वशिक्षक छविलाल अधिकारीको घरमा आज आगलागी भएको छ । बिहान करिब पौने १० बजेतिर विद्युत सर्ट भई आगो लागेको हो ।
आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा कोही नभएका बेला सल्किएको आगोले लत्ताकपडा, अन्नपात, १० हजार रुपैयाँ नगद तथा महत्वपूर्ण सामग्रिहरु जलेर कामै नलाग्ने भएको अधिकारीले बताए ।
छविलालको घरमा छिमेकी डासु प्रसाद अधिकारीको घर गत बर्षको भूकम्पले क्षति भएपछि राखिएको अन्नपात समेत थियो । उक्त अन्नपात समेत सबै जलेर नष्ट भएको छ ।
आगो लागेको थाहा पाएपछि स्थानीय बासिन्दाले करिब २ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागी पीडित परिवारलाई छिमेकीको सहयोगमा अस्थायी टहरा निर्माण गरी बसोबासको व्यवस्था मिलाईएको छ ।
