
रञ्जन अधिकारी पोखरा, २८ माघ / त्रिभुवन विश्वविद्यालयले आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन १४ गते गर्ने निर्णय गरिसकेको छ । त्रिवि नियमावली अनुसार हरेक दुई वर्षमा निर्वाचन हुनुपर्ने भएपनि २०६५ सालपछि निर्वाचन हुन नसकेको सन्दर्भमा २८ वर्षे उमेर हद, मिश्रित निर्वाचन प्रणाली नयाँ प्रावधान राखेर हुने चुनाव हुने निश्चित भएको छ ।
निर्वाचन आउन दुई साता बाँकी रहँदा विद्यार्थी संगठनहरु आन्तरिक तयारीमा लाग्नुपर्ने हो । हरेक क्याम्पसमा चुनाव जित्ने वातावरण बनाउन संगठन इकाईदेखि, जिल्ला, क्षेत्र, केन्द्र गम्भिर बन्नुपर्ने हो । विजयी हुने रणनीतिका साथ बहस चलाउनुपर्ने बेलामा संगठनभित्रै कुटाकुटको अवस्था सिर्जना भएको छ । आफ्नो पक्षमा माहौल बनाउँदै स्वतन्त्र विद्यार्थीलाई आकर्षित गर्नुपर्ने यो समयमा संगठनमा सँगै काम गर्नेहरु नै एकअर्काको टाउको फुटाउन उद्दत छन् ।
मुलुककै प्रतिष्ठित, पश्चिमाञ्चलकै ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा एमाले समर्थित अनेरास्ववियू र काँग्रेस निकट नेपाल विद्यार्थी संघ आफूबीच नै झडपमा उत्रिएका छन् । बुधबारदेखि सुरु भएको अनेरास्ववियू भित्रको किचलो विहीबार कुटाकुटको अवस्थामा पुग्यो । आठ जना घाईते भएका छन् ।
बुधबार त्रिवि जिल्ला आयोजक कमिटि संयोजक विवेक देवकोटा र पृथ्वीनारायण क्याम्पस एकाई संयोजक राजन शर्मा पराजुलीबीच भएको विवाद बढ्दै जाँदा विहीबार दुई पक्षबीच झडप नै भएको हो । झपडमा पराजुली समूहका विनय राना, बिमल पौडेल, दिनेश ढुंगाना र सुरज अधिकारी घाईते छन् । उनीहरुको मुख र अनुहारमा पराजुली समूहले हेल्मेटले प्रहार गरे । चारै जनाको गण्डकी मेडिकल कलेजमा उपचार गरिएको छ ।
झडपमा देवकोटा पक्षका अमृत सुवेदी, शेखर पौडेल, अनुप लामिछाने र सुमन ढुंगाना सामान्य घाईते भए । एमालेको मुख्य दुई गुटको असरले क्याम्पस पनि नराम्ररी प्रभावित छ । देवकोटा केपी ओली पक्षधर हुन् भने पराजुली नेपाल पक्षका हुन् । क्याम्पसमा अनेरास्ववियू इकाई कमिटिबीचको विवाद नयाँ भने होईन । गत मंसिरमै आयोजक कमिटि गठन गरी सर्वसम्मत रुपमा राजन शर्मा पराजुलीलाई नै संयोजक बनाईएको थियो । (यो पढ्नुहोस्: अनेरास्ववियू पिएनको विवाद अन्त्य, सम्मेलन आयोजक कमिटि गठन
बुधबार बिहान स्याङ्जा पोखरा सम्पर्क कमिटिको भेलाका क्रममा दुई पक्षबीच मनमुटाव भएको हो । सर्वसम्मत रुपमै भेलाको प्रमुख अतिथिमा स्याङ्जा घर भएकै प्रदेश नं. ४ संगठन कमिटि सदस्य नारायण मरासिनीलाई बनाईएको थियो । तर एमाले प्रमुख सचेतक भानुभक्त ढकाल कार्यक्रम बीचमै प्रवेश गराईयो र प्रमुख अतिथि बनाईएपछि विवाद सिर्जना भएको त्यहाँ उपस्थिति विद्यार्थी बताउँछन् । भेला आयोजक सदस्यहरु र क्याम्पस एकाई संयोजक हैसियतले राजन शर्मा पराजुलीले प्रमुख अतिथि भनेर अर्कोलाई बसाईसकेको अवस्थामा ढकाललाई त्यहाँ पु¥याउनु नै गलत भएको भन्दै विरोध जनाएका थिए । ‘पार्टी सचेतक पक्कै पनि भेलामा आउनु राम्रो कुरा हो तर अर्को व्यक्तिलाई प्रमुख अतिथि भनेर आसिन गराईंरहँदा भेला सकिन आधा घण्टा बाँकी हुँदा अरुलाई प्रमुख अतिथि बनाईएमा मरासिनीप्रति अन्याय हुन्छ कि हुन्न ?’ पराजुलीले भने– ‘त्यसैले सर्वसम्मत भएको यस्तो कार्यक्रमलाई खत्तम पार्ने गरी उहाँहरु उद्दत हुनुहुन्छ । हामीले वास्ताविकता मात्र बताउन खोज्यौं । अश्लिल गालीगलौजमा उत्रनुभो ।’ विवाद बढ्दै गएपछि विवेक देवकोटाले पराजुलीमाथि आमा मुछेर अश्लिल गालीगलौज गरेको पराजुलीको आरोप छ ।
घटनापछि पृथ्वीनारायण क्याम्पस एकाई कमिटिको नाममा संगठन अनुशासन कमिटि र पार्टीलाई बोधार्थ पठाएर प्रेस विज्ञप्ती पनि जारी भयो । देवकोटाले आफूले ‘भाते’ भन्ने शबद प्रयोग गरेको स्विकार गरे । उनले आपसी सहमतिमै दुवै तर्फबाट भएका कमजोरी स्विकार गरी क्षमा याचना गर्ने बताएका थिए ।
विहीबार अनेरास्ववियू जिल्ला कमिटि उपाध्यक्ष शंकर शैंजुले प्रेस विज्ञप्ती फेसबुकमा प्रचार गरेको भन्दै देवकोटा पक्षले पुनः विवाद गरेपछि कुटाकुटको अवस्था उत्पन्न भएको पराजुली पक्षको आरोप छ । अमृत सुवेदीले एक्कासी दिनेश ढुंगानामाथि हात छाडेपछि झडप भएको थियो । बुधबार दिउँसोको घटनामा सचिवालय सदस्य नरेश रोकाया, केन्द्रिय सदस्य आशिवाद सुवेदीका साथै पार्टी विद्यार्थी फाँट ईञ्चार्ज दिलिप न्यौपाने प्रत्यक्षदर्शी रहेपनि कुनै पहल नगरेको पराजुली पक्षले गुनासो गरेको छ । घटनापछि पराजुली पक्षले कारबाहीको माग गर्दै वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएका छन् । क्याम्पसमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित छ ।
