प्रजातन्त्र दिवसको अवसरमा पोखरामा प्रभातफेरी

719
0
Share:

पोखरा, ७ फागुन
राष्ट्रिय प्रजातन्त्र दिवस एवम् प्रथम निर्वाचन दिवसका अवसरमा आज पोखरामा प्रभातफेरी गरिएको छ ।

पोखरास्थित सिर्जनाचोकबाट सुरु भएको प्रभातफेरी जिल्ला विकास समिति कास्कीको सभाहलमा गएर सम्पन्न भएको थियो ।

कार्यक्रममा सांसद यज्ञबहादुर थापाले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि नेपालीले विभिन्न चरणमा लामो सङ्घर्ष गरेको बताउँदै ती सङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदको बलिदानीकै कारण देश वर्तमानसम्म आइपुगेको चर्चा गरे ।

देशमा उपलब्धिको रक्षा एवम् संविधानको कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले र अबको वर्षलाई निर्वाचन वर्ष नै घोषणा गरी सबै निर्वाचनमा जुट्नुको विकल्प नभएको बताए ।

सांसद सीता गिरीले निर्वाचन र प्रजातन्त्रबाट नै जनताको समृद्धि प्राप्त हुने कुरामा जोड दिँदै सबै राजनीतिक दलमा एकता र सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे ।

कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले निर्वाचनको माध्यमबाट देशमा राजनीतिक स्थिरता कायम गरी नेपालको दिगो विकासलाई सबैले प्राथमिकता दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले देशमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रलगायत कर्मचारी तयारी अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि नेपाली काँग्रेस कास्कीका सचिव रामराज लामिछाने, नेकपा (एमाले) कास्कीका प्रचारप्रसार समितिका संयोजक तेजनारायण अधिकारी, नेकपा (माओवादी केन्द्र) का वखानसिंह गुरुङ, राष्ट्रिय जनमोर्चाका शङ्कर बराल, क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीलगायतले आआफ्ना धारणा राखेका थिए ।

प्रभातफेरीमा सुरक्षा निकायका प्रमुख, क्षेत्रीय अञ्चल र जिल्ला कार्यालयका प्रमुख तथा कर्मचारी, राजनीतिक दलका नेता तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जिल्ला समन्वय समितिका उपाध्यक्ष, कन्या माविका शिक्षक एवम् विद्यार्थीलगायतको उल्लेख्य सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
Share: