कास्कीमा मतदाता नामावलीमा झण्डै २ लाख ३० हजारको नाम दर्ता, २३ दल अद्यावधिक

779
0
Share:

तारा पौडेल

पोखरा, १२फागुन।
क्षेत्रीय निर्वाचन कार्यालय,कास्कीले कास्की जिल्लामा २ लाख २९ हजार ३ सय १६ जनाको फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएको जनाएको छ । यो तथ्यांक माघ मसान्तसम्मको रहेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी तेजबहादुर गुरुङ्गले जानकारी दिए ।

जसमध्ये महिला २ लाख २१ हजार ८ सय २८, पुरुष १ लाख ६ हजार ८ सय ३ र तेस्रो लिङ्गी ५ जना रहेका छन् । पुरुष बढी मात्रामा वैदेशिक रोजगारीका लागि मुलुक बाहिर भएकाले पनि महिलाहरूको सङ्ख्या बढी भएको हो । यसअघि २०७० सालको संविधानसभाको निर्वाचनमा कास्की जिल्लामा १ लाख ७ हजार ३ सय १९ महिला, ९० हजार ३ सय ३४ पुरुष र ५ तेस्रोलिङ्गि गरी कुल १ लाख ९७ हजार ६ सय ६८ मतदाता थिए । जसको आधारमा हेर्दा आसन्न निर्वाचनमा झण्डै ३१ हजार नयाँ मतदाता थपिनेछन् ।

तर उमेरले १६ वर्ष पुगेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिन पाइने भएपनि मतदाता वन्नका लागि भने १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । तसर्थ मतदाता नामावलीमा नाम दर्ता भएका मध्ये पनि केहि व्यक्तिहरुले स्थानिय निर्वाचनमा मताधिकार नपाउने गुरुङ्गले बताएका छन् । उनले भने–“ चुनावको मिति घोषणा भएको दिन फागुन ९ गतेसम्म मतदाता नामावलीमा नाम समावेश भएका र १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले स्थानीय चुनावमा भाग लिन पाउने निर्वाचन आयोगले नै प्रष्ट पारेको छ ।”

आयोगले फागुन १७ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न गरिसक्ने योजना बनाएको छ । नामावली अद्यावधिक भन्नाले नामावलीमा कुनै त्रुटी भए सच्याउने, कसैमाथि उजुरी दिने, दोहोरो नाम हटाउने र नाम हटाउने प्रक्रिया हो । त्यसपछि सोहि आधारमा कास्की जिल्लाको अन्तिम मतदाता नामावली प्रकाशन गरिने सुचना अधिकारी गुरुङ्गले जानकारी दिए । आयोगले मतदाता नामावली अद्यावधी गर्ने काम जिल्ला सदरमुकामबाटै गर्ने र मतदाताको अन्तिम नामावली सदरमुकाममा नै प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका मतदातामध्ये पुस १५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन गरिएको अद्यावधिक तथा दावी विरोध विशेष कार्यक्रममा ४ हजार ५ सय १४ नयाँ मतदाता थपिएका छन् । जसमध्ये २ हजार १ सय ३३ महिला र २ हजार ३ सय ८१ पुरुष छन् । उक्त कार्यक्रममा कार्यालयवाट खटिएका ६ वटा टोलीले दुई नगरपालिका र ३२ गाविसका ७९ ठाउँमा पुगेर मतदाता नामावली सङ्कलन गरेका थिए । टोलीले मृत्यु भएका, दोहोरो नाम भएका,सङ्कलन गरेको र तर यसको सबै विवरणको जानकारी गराउन केही समय लाग्ने उनले बताए । यस बाहेक ओडिआर अन्र्तगत अर्थात अन्य जिल्लामा मताधिकार रहेका तर कास्कीमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका १ सय २९ जनाको नामावली सम्वन्धित जिल्लामा पठाईएको गुरुङ्गले बताए ।

सरकारले सोमबार आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मङ्गलवारदेखि नै मतदाता नामावली सङ्कलन कार्य भने रोकिएको छ । सोमबारसम्म निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिकामा समेत मतदाता नामावली सङ्कलन हुँदै आएकोमा मङ्गलवारदेखि सबै ठाउँमा रोकिएको हो ।

उनका अनुसार स्थानीय तहको निर्वाचनसम्म मतदाता नामावली सङ्कलनको कार्य हुँदैन । विदेशमा भएका वा अन्य कुनै कारणले छुटेकाहरूले स्थानीय निर्वाचनपछि मात्र पुनः मतदाता नामावलीमा नाम लेखाउन पाउने भएका छन् । निर्वाचन कार्यालयले २०७० सालको सविधानसभा निर्वाचन अघिदेखि नै मतदाता नामावली सङ्कलन गर्दै आएको थियो ।

कास्कीमा २३ दल अद्यावधिक
स्थानिय तहको निर्वाचनका सन्दर्भमा दल अद्यावधिक गर्नका लागि निवेदन माग गरेकोमा कास्कीमा २३ दलले आफ्नो विवरण बुझाएका छन् । निर्वाचन आयोगले माघ १७ गतेभित्र दर्ता गर्ने गरीे १ महिनाको समय दिएर निवेदन माग गरे अनुसार कास्कीमा क्रियाशिल २३ दलले आफ्नो विवरण क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका नायव सुव्वा ईश्वरी पोख्रेलले जानकारी दिए ।

ति हुन् : नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेपाल पूर्व राष्ट्रिय सेवक, लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), युनाइटेड ग्रिन अर्गनाइजेसन, तराई मधेश लोकतान्त्रिक पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, देशभक्त समाज, अखण्ड नेपाल पार्टी, नेकपा (माले जन—समाजवादी) रहेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले सरकारले निर्वाचनको मिति घोषणा गरे सँगै सबैजसो तयारी सुरु गर्न थालेको जनाएको छ । विशेषत: अहिले स्थानिय निकाय पुनसंरचनाको आधारमा कास्की जिल्लामा कायम हुन आएका १ महानगरपालिका र ४ गाउँपालिकाको मतदान केन्द्रको पुनरावलोकनका सन्दर्भमा कार्य भइरहेको छ । नायव सुव्वा पोख्रेलका अनुसार २०७० सालको संविधानसभाको निर्वाचमा १ सय ५७ वटा मतदान केन्द्र रहेको कास्की जिल्लामा पुनसंरचनाका कारणले गर्दा केहि केन्द्रहरु थपघट हुन सक्ने तर सो विषय अहिले छलफलकै क्रममा रहेको बताए ।

वैशाख ३१ गते हुने स्थानीय चुनावमा सात जनालाई भोट दिनुपर्छ । गाउँपालिकामा हो भने अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु दुई सदस्यलाई मत दिन पाईन्छ भने यस्तै नगरपालिकामा हकमा पनि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र दुई महिला सदस्य तथा अरु दुई सदस्यलाई भोट दिनुपर्छ ।

स्थानीय तह पुनर्संरचना आयोगले देशभर दुईसय ४१ नगरपालिका, चारसय ६२ गाउँपालिका, ४ महानगरपालिका र १२ उपमहानगरपालिकाको प्रस्ताव गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र सबै वडाका वडाध्यक्षको चुनाव हुन्छ । वैशाख ३१ गते देशभरका सातसय १९ स्थानीय तहमा हुने चुनावबाट ३४ हजारभन्दा धेरै जनप्रतिनिधि चयन हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: