राजामामाले गरे तेस्रो जंगल फेस्टिभलको उद्घाटन, शुक्रबार यस्ता छन् फेस्टिभलका आकर्षणहरु !

Share:

रेम बिक
पोखरा, १२ फागुन ।  ‘कुसुन्डा’ जातिको एक मात्र जिवित व्यक्ति ‘राजामामा’ले रिबन काटेर उद्घाटन गरेसँगै तेस्रो जंगल फेस्टिभल शुरु भएको छ । ‘जंगल थिम’ दिएर पोखराको शान्तिवन वाटिकामा विहिबारदेखि शुरु भएको जंगल फेस्टिभलको उद्घाटन गर्दै राजामामाले फेस्टिभलको उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए ।

‘पहिला म पनि जंगलकै बास बस्थेँ । जहाँ सुर्य अस्तायो त्यहिँ सुत्यो, अनि फेरि उज्यालो भएपछि जंगल चहा¥यो ।’ तेस्रो जंगल फेस्टिभलमा भेटिएका राजामामाले भने–‘अहिले भने मेरो जीवनशैली केहि मात्रामा फेरिएको छ । तनहुँमा बस्छु । मेरो जहान र एउटी छोरी छिन् । मेरो जातिका अरु कोहि छैनन् ।’ जंगल फेस्टिभलको उद्घाटन गर्दा आफुलाई ‘मन्त्री’ जस्तै ठुलो मान्छे भएको अनुभव गरेको ‘राजामामा’ले बताए । यस्तो अवसर दिने आयोजक परिचय नेपाललाई पनि उनले धन्यबाद प्रकट गरे ।

तेस्रो जंगल फेस्टिभलको पहिलो दिन शान्ति वन वाटिकास्थित जंगलभित्र दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो । र, शुक्रबारदेखि दर्शकको सँख्या अझै बाक्लिने आयोजकको विश्वास छ । ‘पहिलो दिन जति दर्शक आए उनीहरुबाट निकै उत्कृष्ट प्रतिक्रिया पाएका छौँ ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘दोस्रो दिनदेखि लगातार केहि दिन बिदा परेको र आएका दर्शकको राम्रो माउथ पब्लिसिटिका कारणले जंगल फेस्टिभलमा दर्शकको सँख्या निर्धारण गर्नेछ ।’ यो पटक जंगल फेस्टिभलमा करिब १ लाख दर्शकले सहभागिता जनाउने आयोजकले अनुमान लगाएको छ ।

पहिलो दिन फेस्टिभलमा कुसुन्डा जातिका एक मात्र व्यक्ति राजामामा र राउटेहरुको समूह दर्शकको विशेष आकर्षणमा प¥यो । राउटेहरुले विभिन्न गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । त्यो सँगै विभिन्न कलाकृतिले पनि दर्शकको ध्यान खिचेको देखिन्थ्यो । बालबालिकाहरु यस्तो कलाकृतिमा बढि झुम्मिएका देखिन्थे । विभिन्न खाले जनावरको मुखुन्डो लाएर बालबालिका र उनीहरुका अभिभावक जंगल चहारिरहेको देखिन्थे । फेस्टिभल ‘जंगली जीवनशैली र जैविक विविधता’ सम्बन्धि अध्ययन गरिरहेका सोधकर्ताहरुले समेत जंगल फेस्टिभलमा सहभागिता जनाएको आयोजकले बताएको छ ।

फेस्टिभल अन्तरगत शुक्रबार विभिन्न रमाईला कार्यक्रमहरु रहेको आयोजक परिचय नेपालले जानकारी दिएको छ । शुक्रबार पाल्पाका ‘स्नेकम्यान’ले सर्प नाच प्रस्तुत गर्नेछन् । त्यस्तै भारतकै चर्चित जादुगर सम्राटको जादु पनि जंगल फेस्टिभलमा देखाईनेछ । त्यस्तै १ सय ७० भन्दा बढि चराहरुको आवाज दुरुस्तै निकाल्ने सक्ने रमेश दुलालको प्रस्तुती पनि शुक्रबार हुने आयोजकले बताएको छ ।

विश्वकै होचो व्यक्ति मध्ये एक बागलुङका खगेन्द्र मगरको खुकुरी डान्स पनि शुक्रबार जंगल फेस्टिभलको विशेष आकर्षण रहनेछ । त्यो सँगै साँझपख आइएफसीका ६० जना डिजाइनरले तयार पारेको पहिरनमा १२ जना मोडलहरु ¥याम्पमा उत्रिँदैछन् । दिउँसो भने ¥यापर गिरिश खतिवडाको प्रस्तुती विशेष रहनेछ ।

फेस्टिभलमा करिब ५० वटा स्टल रहेका छन् । विभिन्न जनचेतनामुलक स्टलसँगै रेस्टुरेन्टहरुको स्टलमा दर्शकले खानपिन गर्दै फेस्टिभलको मज्जा लिन सक्छन् । विभिन्न जनजातिहरुको परिकार पनि फेस्टिभलमा दर्शकको रोजाईमा परेको छ ।

कमेन्ट गर्नुहोस्
Share: