ईञ्जिनियरिङमा नेवि संघ र क्रान्तिकारीद्वारा मतगणनामा अवरोध

424
0
Share:

रञ्जन अधिकारी पोखरा, १९ फागुन / पोखरा लामाचौर स्थित ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसमा मतगणना कार्य प्रभावित भएको छ । स्ववियु निर्वाचनमा कास्कीमा सबैभन्दा बढि मत खसेको यो क्याम्पसमा बुधबार बेलुकी नै मतगणना सुरु भएपनि विहीबार दिउँसो मतगणना कार्य प्रभावित भएको हो ।

कुल मतदाता एक हजार चार सय ३१ रहेकोमा झण्डै ९५ प्रतिशत अर्थात् एक हजार तीन सय ५६ मत खसेको थियो । एक सय ५३ मत मात्र गन्न बाँकी रहँदा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेवि संघले अवरोध गरेको हो । निर्वाचन संयोजक प्राध्यापक ई. रामप्रसाद पौडेलका अनुसार घेरा बाहिरसम्म चिन्ह पुगेको मतपत्र सदर गर्न क्रान्तिकारीले भनेपछि मतगणना कार्य अघि बढ्न । सुरुमै यस्तो मतलाई मान्यता नदिने सहमति र निर्णय अनुसार नै यसअघि गनिएका मतपत्र समेत बदर भईसकेकाले अन्तिम अवस्थामा आएर यसलाई सदर गर्न नसक्ने निर्वाचन आयोगले जनाएको थियो । तर, यस्तो मतलाई सदर गर्नुपर्ने क्रान्तिकारीको मागलाई नेवि संघले पनि साथ दिएको पौडेलले बताए । यस्ता सबै मत सदर हुनुपर्ने पक्षमा नेबि संघ उभिएपछि विहीबार मतगणना सुचारु हुनै सकेन ।

शुक्रबार बिहान ८ बजे सर्वपक्षीय भेला डाकिएको निर्वाचन संयोजक पौडेलले जानकारी दिए । जित नजिक रहेको अनेरास्ववियूले भने अन्तिम अवस्थामा आएर मतगणना रोक्नु खेदजनक रहेको बताएको छ । अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले अब हार्ने निश्चित भईसकेपछि अखिल क्रान्तिकारीले बखेडा झिकेको आरोप लगाए । देशभर नै अखिल क्रान्तिकारी र नेविसंघको हर्कत यस्तै भएको आरोप लगाउँदै उनले तुरुन्त निर्वाचन समितिलाई काम अघि बढाउन दिन पनि माग गरे । उनले प्रजातान्त्रिक भन्नेहरुले नै निर्वाचन प्रक्रियालाई गडबढ गर्नु खेदजनक रहेको बताए ।

नेवि संघका केन्द्रिय सदस्य भानु ढकालले चार नं. बाकस नै साटिएको आशंकाले आफ्ना विद्यार्थी साथीले मतगणना स्थल छाडेर निस्किएको जनाए । क्याम्पस प्रमुख र निर्वाचन समितिको व्यवहार सन्तुलित नदिएको शंका गर्दै उनले धाँधली भएको भन्ने घटनाबारे थप बुझ्न बिहान ७ बजे विद्यार्थीहरुसँग भेला राखिएको जनाए ।

विहीबारसम्म एक हजार तीन सय ५६ मत गणना भएकोमा अनेरास्ववियुका सभापतिका उम्मेदवार ईन्द्र पौडेलले नेवि संघका सुजित कोईरालालाई ९५ मतले पछि पारेका छन् । पौडेलले ५१५ र कोईरालाले ४२० प्राप्त गरेका छन् । यस्ते, अखिल क्रान्तिकारीका साधुराम लामिछानेले ३३७ मत ल्याएका छन् । अखिल छैठौंका सुदर्शन आचार्यले १० र नयाँ शक्तिका अमृत भण्डारीले १५ मत प्राप्त गरेका छन् । कास्कीका पाँच वटा क्याम्पसमा नयाँ शक्तिसँग नेबि संघले संयुक्त प्यानल एवं नैतिक समर्थन पाएको थियो । कोषाध्यक्ष पदमा कुरा नमिलेपछि नयाँ शक्ति प्यानल नै होमिएको हो ।

सचिव पदमा अनेरास्ववियुका सम्राट पौडेलले ४६९, नेविसंघका विजय झाले ४८४ मत, क्रान्तिकारीका कृष्ण दाहालले ३१९ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका शितल शर्माले ३४८, नेविसंघका कमला द्वारेले ४९४, क्रान्तिकारीका अमरेन्द्रकुमार मण्डलले २७५ मत प्राप्त गरिसकेका छन् ।

डब्लुआरसीमा यो नवौं पटकको निर्वाचन हो । यसअघि आठ पटकमा अनेरास्ववियू तीन, नेवि संघ तीन र क्रान्तिकारीले दुई पटक नेतृत्व गरेको छ । अनेरास्ववियूले सदस्यहरुमा कञ्चन पाण्डे, सुनिल कार्की, प्रशान्त कार्की, श्रीधर डाँगी, किरण तिवारी, अनिल मण्डल, सनम श्रेष्ठ उठाएको छ । नेबि संघको तर्फबाट सदस्यहरुमा प्रथम खड्का, सुजन पौडेल, आध्या भट्टराई, स्वरुप सिंह, सुमन बिसी, प्रविण गुरुङ र राजु थापामगर, अखिल क्रान्तिकारीका सदस्यहरुमा दामोदर दाहाल, अशोक कुमार सिंह, मनिका न्यौपाने, प्रशान्त अर्याल, अर्जुन नेपाल, अञ्जली न्यौपाने र सुधिर रानामगर छन् ।

नयाँ शक्तिको पनि छुट्टै प्यानल प्रत्यक्षतर्फ सदस्यहरुमा बसन्त गौम, विकास खनाल, नीता श्रेष्ठ, मो. गुलाम रब्बानी र सुमन केसी छन् । अखिल छैटौंका तर्फबाट सदस्यहरुमा अभयराज पुरी र सुवास कालाथोकी उम्मेदवार बनेका छन् । क्रान्तिकारी विप्लव समानुपातिकमा मात्र उठेको छ ।

चुनाव शान्तिपूर्ण रुपमा सकिएको निर्वाचन आयोगले जनाएको छ । चुनाव हुनुदेखि मत गणनाको अवधिमा सबै विद्यार्थी संगठनका माउ पार्टीका नेता, संगठनका नेताहरु क्याम्पस परिसरमा भेला भए ।

बुधबार नै मतगणना सम्पन्न कास्कीका चार क्याम्पस मध्ये तीन क्याम्पसमा नेबि संघ र एक क्याम्पसमा अनेरास्ववियूले जित्न सफल भएका भए । जनप्रिय बहुमुखी क्याम्पसमा नेबि संघका आशिक गुरुङ, चिकित्सा शास्त्र अध्ययन संस्थानमा नेविसंघकी अनामिका राज्यलक्ष्मी बस्नेत र विन्दुवासिनी संस्कृत विद्यापीठमा नेविसंघका केशव आचार्य सभापतिमा निर्वाचित भईसकेका छन् । यस्तै, वन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुका विशाल अर्याल सभापतिमा चुनिएका छन् ।
छैटौंका तर्फबाट सभापति पदमा प्रताप पौडेल चुनावी मैदानमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: