आफ्नैबाट अपहेलित हुन्छन् अपाङ्ग बालबालिका

428
0
Share:

पर्वत, २१ फागुन-
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा फागुन १९ गते कुश्मामा आयोजित बालबालिकाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आफ्नै अभिभावक तथा विद्यालयहरुको वेवास्ताका कारण अपाङ्ग बालबालिकाहरुको अवस्था अत्यन्तै दयनीय रहेको गुनासो गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै अपाङ्ग उत्थान समाज, पर्वतका अध्यक्ष गणेश सुवेदीले अपाङ्ग भएकै कारण बाबुआमाले समेत त्यस्ता बालकालिकालाई बाहिर देखाउँदा इज्जत जाने भन्दै साङ्ग सन्तान सरह समाजमा घुलमिल हुन नदिएको आक्रोस पोखेका थिए । उनले भने– “आज पनि अपाङ्ग बालकालिकालाई खानेकुरा तथा लगाउने कपडामा समेत अभिभाावकले विभेद गर्ने गरेका छन्, आफ्नै अभिभावकले गरेको यो विभेदलाई कसले हटाउने ?”

अपाङ्ग बालबालिकालाई परिवारभित्र मात्रै नभएर विद्यालयमा पनि चरम विभेद हुने गरेको भन्दै अपांङ्ग उत्थान समाज, पर्वतका कार्यक्रम संयोजक जगन्नाथ पौडेले भने– “अपाङ्ग बालबालिकालाई विद्यालयमा कक्षा कोठामा बस्ने सिटदेखि सरहरुले हेर्ने दृष्टिकोणमा समेत विभेद छ, उनीहरु सरहरु तथा आफ्नै साथीहरुबाट खिसीटिहिरीको पात्र बन्न बाध्य छन् ।”

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय, पोखराका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए । सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा कुनैपनि वहानामा कोहीकसैले पनि बालबालिकाको बाँच्न पाउने, संरक्षण हुन पाउने तथा सहभागी हुन पाउने अधिकार तथा विकास गर्न पाउने अधिकारको हनन गर्न नहुने उल्लेख गरिएको थियो ।

जिल्ला नागरिक सञ्जाल, पर्वतको संयोजनमा भएको उक्त कार्यक्रम पर्वत जिल्ला अदालत बार इकाईका अध्यक्ष विश्वराज पाण्डेय, गैसस महासंघका केन्द्रीय सदस्य देविप्रसाद तिमिल्सिना, गैसस महासंघ, पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, लोकतान्त्रिक गैसस महासंघ, पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, इन्सेक जिल्ला प्रतिनिधि किशोर सापकोटा लगायतले पर्वतमा बालबालिकाको अवस्थाका विषयमा बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: